विशेष महाधिवेशन विधानविपरीत भन्दै सहभागी नहुन कांग्रेसको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनलाई अवैधानिक ठहर गरेको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै व्यक्तिगत रूपमा पदाधिकारी वा सदस्यले बोलाएको महाधिवेशन पार्टी विधानविपरीत हुने भन्दै त्यसमा सहभागी नहुन पार्टीपंक्तिलाई आग्रह गरेका हुन्।

मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको स्पष्ट पारिएको छ। “पदाधिकारी वा सदस्यले व्यक्तिगत रूपमा बोलाएको अधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि विधानविपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका प्रतिनिधि, भ्रातृ एवं शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिलाई हार्दिक अपिल गरिन्छ,” विज्ञप्तिमा भनिएको छ।

संस्थापन पक्षले गत मंसिर १५ गतेको केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत रूपमा निर्णय गरिसकेकाले विशेष महाधिवेशनको औचित्य सोही दिनदेखि स्वतः समाप्त भएको दाबी गरेको छ। महाधिवेशनको प्रक्रिया अघि बढिसकेको अवस्थामा विशेष महाधिवेशनको माग गर्नु यथार्थलाई बेवास्ता गर्नु रहेको पार्टी मुख्यालयको ठहर छ।

साथै, कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र राष्ट्रियसभा निर्वाचनको तयारीमा जुट्न सबैलाई आह्वान गरेको छ। निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको सूची बुझाइसकिएको र राष्ट्रियसभाको मनोनयन दर्ता भइसकेको सन्दर्भमा पार्टीका उम्मेदवारलाई विजयी गराउने अभियानमा सशक्त रूपमा लाग्न निर्देशन दिइएको छ।

यसअघि महामन्त्रीद्वयले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरेका थिए। संस्थापन पक्षको यो कडा निर्देशनपछि कांग्रेसभित्रको आन्तरिक विवाद अब झन् जटिल मोडमा पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *