बुद्ध एयरको भद्रपुर दुर्घटना: सरकार र प्राधिकरणले बनाए छुट्टाछुट्टै छानबिन समिति

काठमाडौँ । भद्रपुर विमानस्थलमा अवतरणका क्रममा पुस १८ गते दुर्घटनामा परेको बुद्ध एयरको एटीआर विमानको छानबिन गर्न दुई वटा छुट्टाछुट्टै छानबिन समिति गठन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार समिट एयरमा कार्यरत वरिष्ठ क्याप्टेन विनोद पुरीलाई अनुसन्धानकर्ताका रूपमा नियुक्त गर्दै मन्त्रालयस्तरीय छानबिन समिति गठन गरेको हो । गैरसैनिक हवाई उडान नियमावली, २०७१ अनुसार क्याप्टेन पुरीले आवश्यकताअनुसार विषयगत विज्ञहरू समेटी दुर्घटनाको अनुसन्धान गर्नेछन् ।

गैरसैनिक हवाई उडान नियमावलीमा रहेको दुर्घटना छानबिनसम्बन्धी व्यवस्थाअनुसार क्याप्टेन पुरीको नेतृत्वमा गठित आयोगले भद्रपुरमा भएको उक्त दुर्घटनाको विस्तृत छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउनुपर्नेछ । आयोगले वायुयान, चालकदल, वायुसेवा कम्पनी, सेवाप्रदायक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण, भद्रपुर विमानस्थल कार्यालयलगायत सबै पक्षको स्वतन्त्र र निष्पक्ष छानबिन गर्नेछ ।

यसैबीच, नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि घटनाको बेग्लै छानबिन प्रक्रिया अघि बढाएको छ । सेवाप्रदायक र नियामक दुवै भूमिकामा रहेको प्राधिकरणलाई हवाई घटना तथा दुर्घटनाको छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणको नागरिक उड्डयन नियमावली, २०५८ अनुसार कानुनी अधिकार छ । उक्त नियमावली अनुसार नागरिक उड्डयनसँग सम्बन्धित कुनै पनि घटना वा दुर्घटनाको प्रचलित कानुनबमोजिम हुने छानबिनका अतिरिक्त महानिर्देशकले आफैं पनि उक्त विषयमा छानबिन गर्न सक्ने नियमावलीमा व्यवस्था रहेको छ ।

यसै कानुनी प्रावधानअनुसार प्राधिकरणले त्यहाको फ्लाइट सेफ्टी विभागमा एफओआईमा कार्यरत वरिष्ठ क्याप्टेन रूपकुमार सिद्धीको संयोजकत्वमा छानबिन समिति गठन गरेको प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमले जानकारी दिए । उनका अनुसार समितिमा एएनएसडीका उपनिर्देशक मुकेश दाहाल, फ्लाइट सेफ्टी विभागका उपप्रबन्धक विधान श्रेष्ठ, सेफ्टी म्यानेजमेन्ट डिभिजनका प्रबन्धक लक्ष्मण देवकोटा तथा एरोड्रम सेफ्टीका उपप्रबन्धक योगेश पुडासैनी सदस्य रहेका छन् । समितिले ३५ दिनभित्र प्रतिवेदन निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णलाई बुझाउनुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *