गगन र विश्वप्रकाशद्वारा कांग्रेस विशेष महाधिवेशनको औपचारिक आह्वान
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पहिलोपटक औपचारिक रूपमा पार्टीको विशेष महाधिवेशन आह्वान गरेका छन्। बुधबार एक संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले आगामी पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन हुने घोषणा गरेका हुन्।
पार्टी विधानको धारा १७ (२) बमोजिम ५४.५८ प्रतिशत (२,४८८ जना) महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरे पनि संस्थापन पक्षले बेवास्ता गरेपछि दुई महामन्त्रीले यस्तो कदम चालेका हुन्। “बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि” भन्ने नाराका साथ आह्वान गरिएको यो महाधिवेशनले पार्टीमा नयाँ ऊर्जा भर्ने उनीहरूको दाबी छ।
नेतृत्वमाथि विधान मिचेको आरोप महामन्त्रीद्वयले विधान सम्मत माग गरिएको विशेष महाधिवेशनलाई केन्द्रले रोक्न नमिल्ने जिकिर गरेका छन्। “विशेष महाधिवेशनको माग गर्दै निवेदन पेस भएको तीन महिनाभित्र महाधिवेशन सम्पन्न गर्नु केन्द्रको जिम्मेवारी थियो, तर कार्यसमितिबाट यो सम्भव हुन सकेन,” वक्तव्यमा भनिएको छ, “विधान बमोजिम माग गरिएको विशेष महाधिवेशनलाई असान्दर्भिक भन्ने अधिकार कसैलाई छैन।”
उनीहरूले विधानको पालना नगर्नु राजनीतिक दल सम्बन्धी कानुनको समेत विपरीत भएको भन्दै नेतृत्वमाथि प्रश्न उठाएका छन्। विधान र कानुन बमोजिम जिम्मेवारी पूरा गर्नु पदाधिकारीको हैसियतले आफ्नो वैधानिक र नैतिक दायित्व भएको उनीहरूको ठहर छ।
पार्टी फुट्ने डरलाई अस्वीकार पार्टीभित्रको यो ठूलो विद्रोहका बीच महामन्त्रीद्वयले एकताको सन्देश दिने प्रयास समेत गरेका छन्। जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई एकढिक्का राख्न आफूहरू कटिबद्ध रहेको उनीहरूले बताएका छन्। बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई सुदृढ बनाउन र जनभावना अनुसारको नीति निर्माण गर्न यो विशेष महाधिवेशन अपरिहार्य भएको वक्तव्यमा उल्लेख छ।
यो घोषणासँगै नेपाली कांग्रेसभित्रको आन्तरिक विवादले नयाँ मोड लिएको छ भने संस्थापन पक्ष (देउवा समूह) ले यसलाई कसरी लिन्छ भन्ने विषय अबको राजनीतिको केन्द्रमा रहने देखिन्छ।

