भत्काएर मात्रै देश बन्दैन, बनाउन दिमाग ठीक ठाउँमा हुनुपर्छ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भत्काएर मात्रै देश नबन्ने बताएका छन्। नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको ३५ औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
हेटौँडामा सरकारले घर भत्काएको प्रति आपत्ति जनाउँदै उनले वर्तमान सरकारले जे पनि भत्काउने काम मात्र गरिरहेको आरोप लगाए। “यो सरकारले के गर्यो? हेटौँडामा घर भत्काउने काम थियो उसको? चुनाव गराउन पर्दैन? चुनावको वातावरण बनाउन पर्दैन? हेटौँडामा घर भत्कायो, आधा भत्कायो आधा बाँकी छ,” ओलीले भने।
भत्काउने बानी परेकाहरूको निर्देशनमा सरकारले जे पनि भत्काउन थालेको टिप्पणी गर्दै उनले सरकार भत्काएको, डेमोक्रेसी र संविधान भत्काएको तथा सुकुम्बासी बस्ती भत्काएको भन्दै आक्रोश व्यक्त गरे। साथै, देश बनाउनका लागि दिमाग ठीकै ठाउँमा भएको मान्छे चाहिने उनले बताए। “भत्काएर मात्रै देश बन्दैन, देश बनाउनुपर्छ। बनाउनका लागि दिमाग ठिकै ठाउँमा भएका मान्छे चाहिन्छ, उन्माद र नशामा देश बन्दैन,” ओलीको भनाइ छ।
