“बरु विष पिएर एकता जोगाउँछु, पार्टी फुट्न दिन्नँ” : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जुनसुकै परिस्थितिमा पनि पार्टीको एकता कायम राख्ने प्रतिबद्धता जनाएका छन्। कांग्रेस नेताद्वय डा. चन्द्र भण्डारी र डा. सुनील शर्मासँगको संवादका क्रममा महामन्त्री थापाले पार्टीभित्र जस्तै कठिन अवस्था आए पनि आफूले विष पिएर भए पनि एकतालाई फुट्न नदिने बताएका हुन्।

देशभरका कार्यकर्ता र शुभचिन्तकहरूलाई आश्वस्त पार्दै थापाले कसैले चाहेर पनि कांग्रेस नफुट्ने दाबी गरे। पछिल्लो समय ‘जेनजी’ आन्दोलनपछि युवा पुस्ताले कांग्रेसमाथि अनेकौँ प्रश्न उठाइरहेको उल्लेख गर्दै उनले ती प्रश्नको चित्तबुझ्दो जवाफ दिनु अहिलेको मुख्य चुनौती रहेको बताए। नौजवानका भावनालाई सम्बोधन नगरे पार्टी मृत बन्ने भएकाले आफूहरूले कांग्रेसलाई जीवन्त र सान्दर्भिक बनाउन खोजेको उनको तर्क थियो।

छलफलमा सहभागी नेता डा. चन्द्र भण्डारीले संसारभरका नेपालीले कांग्रेसलाई चासोका साथ हेरिरहेको भन्दै पार्टीले एकताको बलियो सन्देश दिनुपर्नेमा जोड दिए। उनले जेनजी आन्दोलनपछि नेता र कार्यकर्ताका घर जलेको र कार्यकर्तामा निराशा छाएको भन्दै अझै पनि नेताहरू किन परिवर्तन भएनन् भन्ने प्रश्न उठिरहेको बताए। भण्डारीले प्रजातन्त्र र संविधानको रक्षाका लागि अब दुई महामन्त्रीले पार्टीको नेतृत्व सम्हाल्ने गरी अगाडि बढ्नुपर्ने सुझाव समेत दिए।

विघटित प्रतिनिधिसभाका सदस्य समेत रहेका यी तीन नेताबीचको यो संवादले पार्टीको आन्तरिक जीवन, आगामी नेतृत्व र बदलिँदो राजनीतिक परिवेशमा कांग्रेसको भूमिकाबारे महत्वपूर्ण बहस सिर्जना गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *