राष्ट्रिय सभा निर्वाचन: १८ सिटका लागि आज मनोनयन दर्ता
काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने निर्वाचनका लागि बिहान १० देखि दिउँसो ३ बजेसम्म मनोनयनको समय तोक्यो ।
राष्ट्रिय सभामा आगामी फागुन २० गते रिक्त हुने १८ सदस्य पदका लागि यो निर्वाचन हुन लागेको हो । आयोगले यसअघि नै पुस १९ गते मतदाता नामावली प्रकाशन गर्यो भने हिजो मंगलबार अन्तिम नामावली सार्वजनिक गरिसक्यो ।
निर्वाचन कार्यतालिका:
पुस २४: उम्मेदवार विरुद्ध उजुरी दिने ।
पुस २७: नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने ।
पुस २८: उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने ।
माघ ११: बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गर्ने ।
आयोगले २०७८ को जनगणना अनुसार नयाँ मतभार समेत सार्वजनिक गरिसक्यो । यस निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षले मतदान गर्नेछन् । फागुन २० मा कुल १९ पद रिक्त भए पनि १८ पदमा मात्र निर्वाचन हुनेछ भने एक जना सदस्य राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।
