राष्ट्रियसभाका उम्मेदवार टुङ्ग्याउँदै एमाले : पदाधिकारीलाई नयाँ जिम्मेवारी दिने तयारी

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज मंगलबार बस्दैछ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ९ बजेका लागि बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।

बैठकमा विशेषगरी राष्ट्रियसभा निर्वाचनको तयारी, उम्मेदवार चयन र पार्टीको आन्तरिक कार्यविभाजनका विषयमा छलफल हुनेछ। भोलि (पुस २३ गते) राष्ट्रियसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका रहेकाले एमालेले आजै उम्मेदवारहरूको टुंगो लगाउने तयारी गरेको छ।

पार्टी सचिव पद्मा अर्यालका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थिति र यही पुस २६ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डाहरूका बारेमा पनि छलफल हुनेछ। ‘देश निर्वाचनतर्फ उन्मुख भएकाले पार्टीलाई सांगठनिक रूपमा थप चलायमान बनाउन केही अस्थायी कार्यविभाजन गर्ने तयारी पनि छ,’ उनले भनिन्।

आजको बैठकमा मुख्य-मुख्य विभागका प्रमुखहरू, प्रदेश इन्चार्जहरू र जिल्ला इन्चार्जहरूलाई निर्वाचन लक्षित ‘संयोजक’को जिम्मेवारी दिने योजना रहेको बताइएको छ। एमालेले राष्ट्रियसभा निर्वाचनका लागि अन्य राजनीतिक दलहरूसँग भइरहेको तालमेल र सिट बाँडफाँडका विषयमा पनि आजै ठोस निर्णय लिने सम्भावना छ।

सचिवालय बैठकले तय गरेका एजेण्डाहरूमाथि आगामी केन्द्रीय कमिटी बैठकमा विस्तृत छलफल गरी निर्वाचन केन्द्रित विशेष रणनीति सार्वजनिक गरिने एमाले नेताहरूले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *