ओमान र इजरायलसँग श्रम सम्झौता गर्न सरकारको स्वीकृति
काठमाडौँ । मन्त्रिपरिषद्को सोमबारको बैठकले ओमान र इजरायलसँगको श्रम सम्झौतालाई औपचारिक रूपमा स्वीकृत गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदिश खरेलका अनुसार ओमानसँग शून्य लागतमा नेपाली कामदार पठाउने गरी तयार पारिएको समझदारीपत्रलाई बैठकले अनुमोदन गरेको हो।
यो सम्झौता कार्यान्वयनमा आएपछि कूटनीतिक सम्बन्धको ५० वर्षपछि ओमानसँग पहिलो पटक श्रम सम्बन्धले कानुनी वैधानिकता पाउनेछ र हाल त्यहाँ रहेका करिब २५ हजार नेपाली र विशेष गरी अवैध बाटोबाट जाने घरेलु श्रमिकलाई सुरक्षा प्रदान गर्ने लक्ष्य राखेको छ।
त्यस्तै, इजरायलसँगको केयरगिभर सम्बन्धी २०७७ सालको श्रम सम्झौतालाई बैठकले नवीकरण गर्दै स्वीकृत गरेको छ। अघिल्लो सम्झौतामा स्वतः नवीकरणको प्रावधान नभएकाले यस पटक नयाँ प्रक्रियामार्फत श्रम स्वीकृति दिने बाटो खुला गरिएको हो।
यस निर्णयले कृषि र दीर्घकालीन केयरगिभरका क्षेत्रमा सरकारी संयन्त्र मार्फत थप नेपाली श्रमिक पठाउन सहज हुने मन्त्रालयले जनाएको छ।
