नेपाल आइपुग्यो टी-२० विश्वकप क्रिकेट ट्रफी

काठमाडौँ । आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेटको ट्रफी सोमबार नेपाल आइपुगेको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले विश्वकपको सक्कली ट्रफी सार्वजनिक गरेका हुन्। ट्रफी सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले विश्वकपको ट्रफी नेपाल आउनु खेलकुद क्षेत्र र सिङ्गो देशका लागि गौरवपूर्ण क्षण भएको बताए।

ट्रफी प्रदर्शनी कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुवार्ट ल, कप्तान रोहित पौडेल तथा नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा लगायतको उपस्थिति थियो। आगामी फेब्रुअरीमा भारत र श्रीलङ्कामा आयोजना हुने विश्वकपको प्रवर्द्धनका लागि ‘ट्रफी टुर’ अन्तर्गत यसलाई नेपाल ल्याइएको हो।

नेपालमा यो ट्रफी जनवरी ५ देखि ७ सम्म तीन दिन रहने कार्यतालिका छ। नेपालले तेस्रो पटक टी-२० विश्वकप खेल्ने तयारी गरिरहेका बेला ट्रफी नेपाल आइपुग्नुलाई समर्थक र खेलाडीहरूले उत्साहका साथ लिएका छन्। यसअघि यो ट्रफी विश्वका विभिन्न मुलुकमा प्रदर्शन गरिसकिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *