कोशी प्रदेशमा फेरिँदै मन्त्रीहरू

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सत्ता साझेदार दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको भागबन्डा मिलाउन मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारी थालेका छन्। मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन केही दिनभित्रै नयाँ मन्त्रीहरूलाई शपथ गराउने गरी आन्तरिक गृहकार्य पूरा भएको छ।

नेपाली कांग्रेसका सांसद भीम पराजुलीले पनि सरकार पुनर्गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको पुष्टि गर्दै आगामी एक-दुई दिनभित्रै नयाँ मन्त्रीहरूले कार्यभार सम्हाल्ने सम्भावना रहेको जानकारी दिएका छन्। पुनर्गठनका क्रममा नेकपा एमालेबाट मन्त्री बन्ने आकांक्षीहरूको सूचीमा ६ जनाको नाम चर्चामा छ । बिदुर लिङ्थेप, चिन्तन पाठक, निरन राई, इन्द्रमणि पराजुली, उमाकान्त गौतम र रामप्रसाद मेहता रहेका छन्। यीमध्ये चार जनालाई मन्त्री बनाउने एमालेको तयारी छ।

त्यस्तै नेपाली कांग्रेसको तर्फबाट मन्त्री बन्ने चार जनाको नाम लगभग निश्चित भइसकेको छ। कांग्रेसबाट मानबहादुर लिम्बू, भीम पराजुली, इसराइल मन्सुरी र प्रदिप सुनुवार मन्त्रिपरिषद्मा सहभागी हुने बताइएको छ। वर्तमान सरकारमा एमालेका तर्फबाट राम राना, पाँचकर्ण राई, रेवतीरमण भण्डारी र एकराज

खनाल मन्त्रीका रूपमा कार्यरत छन् भने कांग्रेसबाट भूपेन्द्र राई, खगेनसिंह हाङ्गाम र सदानन्द मण्डलले विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। नयाँ मन्त्रीहरूको आगमनसँगै केही वर्तमान मन्त्रीहरू बाहिरिने वा मन्त्रालय हेरफेर हुने सम्भावना समेत देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *