‘विशेष महाधिवेशनको औचित्य छैन, निर्वाचनमा केन्द्रित बनौँ’
काठमाडौँ । नेपाली कांग्रेसका पाँच जना प्रदेश सभापतिहरूले पार्टीभित्र चर्चामा रहेको विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको बताएका छन्। कोशी, मधेस, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका सभापतिहरूले सोमबार एक संयुक्त विज्ञप्ति जारी गर्दै नेता तथा कार्यकर्ताहरूलाई आगामी निर्वाचनको तयारीमा लाग्न अपिल गरेका हुन्।
विज्ञप्ति जारी गर्नेहरूमा कोशी सभापति उद्धव थापा, मधेस सभापति कृष्ण यादव, बागमती सभापति इन्द्रबहादुर बानियाँ, कर्णाली सभापति ललितजंग शाही र सुदूरपश्चिम सभापति वीरबहादुर बलायर रहेका छन्। उनीहरूले नियमित महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा विशेष महाधिवेशनको माग गर्नु सान्दर्भिक नहुने तर्क गरेका छन्।
केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ को निर्णयअनुसार आगामी २०८३ वैशाख २८–३१ मा नियमित महाधिवेशन सम्पन्न हुने सुनिश्चित भएको उनीहरूले उल्लेख गरेका छन्। “क्रियाशील सदस्यता नवीकरण र वितरणको प्राविधिक कारणले पुस २६ को महाधिवेशन वैशाखमा सरेको हो। अब नियमित महाधिवेशन हुने भएपछि त्यसअघि विशेष महाधिवेशन गर्नुको कुनै औचित्य छैन,” विज्ञप्तिमा भनिएको छ।
पाँचै प्रदेशका सभापतिहरूले पार्टी पंक्तिलाई एकताबद्ध हुन आग्रह गर्दै २०८२ फागुन २१ गते हुने आम निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका छन्। उनीहरूले निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउनु नै अहिलेको मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै आन्तरिक विवाद छोडेर चुनावी मैदानमा होमिन सबै कांग्रेसजनलाई हार्दिक अनुरोध गरेका छन्।
