गोरखा-काठमाडौँ एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा

गोरखा । ३०४ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर नेपाली सेनाले ऐतिहासिक एकीकरण पदमार्गमा पदयात्रा सुरु गरेको छ। सोमबार गोरखा दरबारस्थित हनुमान भञ्ज्याङबाट औपचारिक रूपमा यो पदयात्रा सुरु भएको हो।

नेपालको भौगोलिक एकीकरणको क्रममा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले प्रयोग गरेको ऐतिहासिक पदमार्गलाई प्रवर्द्धन गर्ने उद्देश्यले सेनाले यो कार्यक्रम आयोजना गरेको हो। पदयात्रामा सहभागी अधिकृत कमान्डको टोलीले टर्च र नेपाली सेनाको पहिलो पाँच कम्पनी (श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुज गण) सहित अन्य गणहरूको झन्डा बोकेका छन्।

सोमबार आयोजित विशेष कार्यक्रममा पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी भोलानाथ थापा र स्थानीय जनप्रतिनिधिले संयुक्त रूपमा टर्च र झन्डा हस्तान्तरण गरी टोलीलाई बिदाइ गरेका थिए। पदयात्रामा निस्किएको टोली पिपलथोक, ताप्ले, अश्राङ र बोर्लाङ हुँदै सोमबार साँझ घाटबेँसी पुग्नेछ। त्यहाँ गोरखाको टोलीले टर्च र झन्डा धादिङको भैरव गणलाई हस्तान्तरण गर्नेछ।

धादिङको टोलीले नुवाकोटको शेर गणलाई र नुवाकोटले पौष २६ गते काठमाडौँको शार्दुल गणलाई उक्त सामग्री हस्तान्तरण गर्ने कार्यतालिका रहेको छ। पदयात्रामा सहभागी टोली आगामी पुस २७ गते पृथ्वी जयन्तीका दिन काठमाडौँको हनुमानढोकामा आयोजित मुख्य समारोहमा सहभागी हुने रुद्रध्वज गणका गणपती बिरोध रिजालले जानकारी दिए।

ऐतिहासिक कोट र गढीहरूको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाले वि.सं. २०७६ सालदेखि यो पदयात्रा निरन्तर आयोजना गर्दै आएको छ। बिदाइ कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापा, गोरखा नगरपालिकाका मेयर कृष्ण राना र प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ लगायतको उपस्थिति थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *