जेनजी आन्दोलन : ओलीले दिए लिखित बयान
काठमाडौँ । भदौ २३ र २४ को ‘जेनजी आन्दोलन’ छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित बयान लिएको छ। आयोगको टोली आइतबार दिउँसो भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेर बयानको औपचारिकता पूरा गरेको हो।
सार्वजनिक रूपमा आयोगलाई नमान्ने र बयान नदिने अडान राख्दै आएका ओलीले आयोगले सोधेका प्रश्नहरूमा लिखित जवाफ (स्टेटमेन्ट) बुझाएका छन्। सहसचिव नेतृत्वको टोली प्रश्नपत्रसहित ओली निवास पुगेको थियो। यसअघि आयोगले बयानमा नआए सरकारको सहयोग लिएर बोलाउने चेतावनी दिएपछि ओलीले लिखित बयान दिएका हुन्।
आयोगले यसअघि नै तत्कालीन गृहमन्त्री रमेश लेखक, सुरक्षा निकायका प्रमुखहरू, तत्कालीन मुख्य सचिव र गृहसचिवसँग बयान लिइसकेको छ। ७६ जनाको ज्यान जाने गरी भएको सो हिंसात्मक घटनाको सत्यतथ्य छानबिन गर्न असोज ५ गते यो उच्चस्तरीय आयोग गठन गरिएको थियो।
