फागुन २१ को चुनावका लागि ७७ मुख्य निर्वाचन अधिकृत नियुक्त
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ। न्याय परिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको हो।
यसैगरी, आयोगले न्याय सेवा आयोगको परामर्शमा ८८ जना नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतहरूलाई निर्वाचन अधिकृतमा समेत नियुक्त गरेको छ। नियुक्त भएका सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले आगामी माघ २ गतेदेखि आ-आफ्नो निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गर्नेछन्।
कार्यालय स्थापना भएसँगै निर्वाचनका औपचारिक कार्यक्रमहरू सोही स्थानबाट सञ्चालन हुने आयोगले जनाएको छ। फागुन २१ का लागि तय भएको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन आयोगले प्रशासनिक र प्राविधिक तयारीलाई तीव्रता दिएको छ।
प्रतिक्रिया
