भीमफेदीमा सुमो दुर्घटना: ९ जना घाइते, ७ को अवस्था गम्भीर

काठमाडौँ । काठमाडौँ-हेटौँडा जोड्ने छोटो राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदीमा आइतबार साँझ एउटा यात्रुबाहक टाटासुमो दुर्घटना भएको छ। भीमफेदी गाउँपालिका-६ जुरीखेतमा ना १ ज १७७८ नम्बरको टाटासुमो सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा परी ९ जना यात्रु घाइते भएका छन्। घाइते हुनेहरूमा ६ पुरुष, १ महिला र २ बालबालिका रहेका छन्। घाइतेमध्ये ७ जनाको अवस्था निकै गम्भीर रहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) पुष्कर बोगटीले जानकारी दिएका छन्। घाइते बालक र बालिकाको अवस्था भने मध्यम रहेको बताइएको छ।

इलाका प्रहरी कार्यालय भीमफेदीको टोलीले घटनास्थलबाट सबै घाइतेको उद्धार गरी उपचारका लागि हेटौँडातर्फ पठाएको छ। तीव्र गतिका कारण वा अन्य कुनै प्राविधिक कारणले दुर्घटना भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *