धार्मिक सद्भाव बिथोल्नेलाई ५ वर्ष कैद र १ लाख जरिवाना

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक सद्भाव खलबल्याउने र धार्मिक द्वेष फैलाउने विरुद्ध कठोर कानुनी कारबाहीको चेतावनी दिएको छ। पछिल्लो समय डिजिटल प्लेटफर्मको दुरुपयोग गरी समाजमा भ्रम छर्ने गतिविधि बढेपछि प्रशासनले फेसबुक, टिकटक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा सूक्ष्म निगरानी सुरु गरेको हो।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको अपीलमा धार्मिक आस्थामा ठेस पुर्‍याउने वा कुनै समुदायको मानमर्दन गर्नेलाई गम्भीरतापूर्वक लिई कानुनी दायरामा ल्याइने उल्लेख छ। प्रशासनले मुलुकी अपराध संहिता र विद्युतीय कारोबार ऐनअनुसार कडा सजायका प्रावधानहरू समेत सार्वजनिक गरेको छ।

जसअनुसार धार्मिक स्थलको अपमान गर्नेलाई ३ वर्षसम्म कैद र धार्मिक भावनामा आघात पुर्‍याउनेलाई २ वर्षसम्म कैदको व्यवस्था छ। विशेषगरी इन्टरनेटमार्फत साम्प्रदायिक सम्बन्धमा खलल पार्ने वा घृणा फैलाउनेलाई विद्युतीय कारोबार ऐनअनुसार १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने प्रशासनले चेतावनी दिएको छ।

प्रशासनले विद्युतीय माध्यमबाट महिलालाई अपमान गर्ने र अमर्यादित कार्य गर्नेलाई पनि सोही ऐनअनुसार कारबाही गर्ने स्पष्ट पारेको छ। समाजमा शान्ति सुरक्षा र सद्भाव कायम राख्नु सबैको दायित्व भएको भन्दै कानुनको उल्लंघन नगर्न प्रशासनले सबैमा आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *