पारिवारिक कलह : श्रीमतीको हत्यापछि आत्महत्या प्रयास
सांकेतिक तस्बिर
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा एक व्यक्तिले आफ्नै श्रीमतीको विभत्स हत्या गरेका छन्। प्रहरीका अनुसार बेलका नगरपालिका-३, किराँत चोकका खगेन्द्र राईले सामान्य विवादमा श्रीमती गंगा राईको छुरा प्रहार गरी हत्या गरेका हुन्।
आइतबार बिहान घरमा आपसी भनाभन भइरहेका बेला आवेगमा आएका खगेन्द्रले श्रीमती गंगामाथि अन्धाधुन्ध छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट गम्भीर घाइते भएकी गंगालाई स्थानीय र प्रहरीको सक्रियतामा तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो। तर, उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषित गरे।
श्रीमती ढलेपछि खगेन्द्रले सोही छुराले आफ्नै शरीरका विभिन्न भागमा प्रहार गरी आत्महत्याको प्रयास गरेका थिए। रगताम्मे अवस्थामा रहेका उनलाई स्थानीयले फेला पारी नियन्त्रणमा लिएका थिए। हाल खगेन्द्रको पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै प्रहरीको कडा निगरानीमा उपचार भइरहेको छ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका अनुसार श्रीमान–श्रीमतीबीच केही समयदेखि सामान्य मनमुटाव रहँदै आएको बुझिएको छ। आइतबारको विवादले उग्र रूप लिँदा यो दुखद घटना घटेको हो।
