रंगेलीको संसारीमाई मन्दिरबाट मूर्ति, गहना र नगद चोरी
विराटनगर । मोरङको रंगेली नगरपालिका-७ स्थित ऐतिहासिक तथा धार्मिक महत्वको संसारीमाई मन्दिरमा शनिबार राति चोरी भएको छ। अज्ञात समूहले मन्दिरको च्यानल गेटको ताल्चा फोडेर बहुमूल्य मूर्ति, गरगहना र दानपेटिकाको नगद चोरी गरेको हो।
प्रहरीका अनुसार चोरहरूले योजनाबद्ध रूपमा मन्दिरमा प्रवेश गरी संसारी माताका दुई थान साना मूर्ति र ठूलो मूर्तिमा लगाइएका चाँदीका गरगहना लुटेका छन्। साथै, दानपेटिकाको सिसा फोडेर भित्र रहेको नगद समेत लगेका छन्। आइतबार बिहान मन्दिरका म्यानेजर पंकज झाले घटनाबारे जानकारी दिएपछि इलाका प्रहरी कार्यालय रंगेलीको टोली अनुसन्धानका लागि पुगेको थियो।
मन्दिरजस्तो आस्थाको केन्द्रमा चोरी भएपछि स्थानीयवासीले सुरक्षा व्यवस्थामाथि तीव्र असन्तुष्टि जनाएका छन्। “मन्दिरमा नियमित गस्ती र सीसीटीभी क्यामेरा नहुँदा अपराधीहरूलाई सहज भएको छ,” एक स्थानीयले गुनासो गरे। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले घटनाको प्रकृति हेर्दा चोरीमा समूहकै संलग्नता हुन सक्ने बताउँदै संलग्नहरूको खोजी तीव्र पारिएको जानकारी दिइन्।
इन्स्पेक्टर नरेन्द्रकुमार बोगटीको नेतृत्वमा खटिएको टोलीले घटनास्थलको मुचुल्का उठाएर शंकास्पद व्यक्तिहरूको ‘प्रोफाइल’ अध्ययन गरिरहेको छ। प्रहरीले मन्दिर व्यवस्थापन र स्थानीयलाई सुरक्षाका लागि थप सजग रहन र प्रविधिको प्रयोग बढाउन समेत आग्रह गरेको छ।
