कांग्रेसमा नीतिगत विचलनः शेखरको ‘यू-टर्न’ कि राजनीतिक आत्मसमर्पण?

काठमाडौँ । नेपाली कांग्रेस यतिबेला विचारको स्पष्टता र नेतृत्वको दृढताभन्दा पनि अन्योल र बेथितिको बन्धक बनेको छ। पार्टीभित्र ‘रुपान्तरण’ को चर्को नारा दिने डा. शेखर कोइराला समूह नै यतिबेला आफ्नै एजेन्डाबाट पछि हटेपछि कांग्रेसको संस्थापन इतर पक्षभित्र गम्भीर नैतिक प्रश्न खडा भएको छ।

अस्थिर अडान

केही समयअघिसम्म कोइरालाको स्पष्ट अडान थियो- ‘पार्टीलाई विधिमा चलाउन नियमित वा विशेष महाधिवेशन अनिवार्य छ।’ तर, शनिबार विशालनगरमा आफ्नै समूहका हस्ताक्षरकर्तासँगको छलफलमा उनले जुन शैलीमा अडानबाट पछि हट्ने संकेत गरे, त्यसले उनीमाथि कार्यकर्ताको विश्वास धर्मराएको छ।

प्रश्न उठ्छ– के कोइराला आफ्नै अडानमा टिक्न नसक्ने कमजोर नेता हुन्? आफ्नै समूहले संकलन गरेको हस्ताक्षर र विशेष महाधिवेशनको मुद्दालाई बीच बाटोमै अलपत्र पारेर उनले सभापति शेरबहादुर देउवाको बहुमत सामु घुँडा टेकेका हुन्?

कार्यकर्ताको आक्रोश

विशेष महाधिवेशनको पक्षमा उभिएका देवराज चालिसे जस्ता नेताहरूले शेखरलाई दिएको सुझाव तीखो छ- आफैँले सुरु गरेको मुद्दाबाट यसरी भाग्न मिल्दैन। नेतृत्वले बाटो देखाउनुपर्नेमा उल्टै कार्यकर्तालाई सम्झाएर पछि हटाउन खोज्नुले कांग्रेसमा नेतृत्वको खडेरी परेको पुष्टि गर्छ।

कोइरालाले ूबहुमतको निर्णय मान्न बाध्य भएूँ भन्नुलाई कार्यकर्ताले ‘आँट नभएको नेता’ को संज्ञा दिन थालेका छन्। यदि विधान मिचिँदा पनि बहुमतको नाममा मौन बस्ने हो भने ‘नैतिक राजनीति’ को अर्थ कहाँ रहन्छ?

बेथिति र वैधानिक संकट

कांग्रेसमा विधानभन्दा माथि नेता बन्ने रोग पुरानै हो। विशेष महाधिवेशनको माग रहर नभई पार्टीलाई गतिशील बनाउने संवैधानिक उपचार थियो। तर, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कानुन व्यवसायीसँग परामर्श गरिरहँदा शेखरले हस्ताक्षरकर्तालाई फिर्ता हुन दबाब दिनुले इतर समूहभित्रकै अविश्वासलाई छताछुल्ल पारेको छ।

राजनीतिमा ‘ग्रेसफुल एक्जिट’ वा ‘सम्झौता’ स्वभाविक मानिएला, तर मुद्दा नै छाडेर गरिने आत्मसमर्पणले नेताको कद सानो बनाउँछ। कोइरालाले आज जुन अन्योल देखाएका छन्, यसले उनलाई आगामी महाधिवेशनमा सभापतिको बलियो दाबेदारका रूपमा प्रस्तुत गर्न कठिन बनाउने देखिन्छ।

आफ्नो समूहलाई नेतृत्व दिन नसक्ने र संस्थापनको दबाबमा गलिसक्ने नेताले ‘वृहत कांग्रेस’ को नेतृत्व कसरी गर्लान्? अहिले कांग्रेस कार्यकर्ताको मुखमा झुण्डिएको प्रश्न यही हो। पार्टीलाई बेथितिबाट जोगाउन खोज्नेहरू नै बेथितिको मतियार बन्न पुग्नु नेपाली कांग्रेसको सबैभन्दा ठूलो दुर्भाग्य हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *