महाधिवेशन वैशाखमा : संस्थापन, महामन्त्रीद्वयद्वारा विशेष महाधिवेशनको बिगुल

काठमाडौँ । नेपाली कांग्रेसभित्र १५औं महाधिवेशनको मितिलाई लिएर संस्थापन पक्ष र महामन्त्रीद्वयबीचको विवाद वारपारको अवस्थामा पुगेको छ। सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५औं महाधिवेशन आगामी २०८३ वैशाख २८ देखि ३१ गतेसम्म गर्ने नयाँ प्रस्ताव पेश गरेका छन्।

बैठकपछि नेता विमलेन्द्र निधिले दिएको जानकारीअनुसार कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनको औचित्य मंसिर १५ मै सकिएको दाबी गर्दै नियमित महाधिवेशनलाई वैशाखमा लैजान प्रस्ताव गरेका हुन्। यसअघि मंसिर १५ को बैठकले पुस २६-२८ का लागि महाधिवेशन तोकेको भए पनि उक्त कार्यतालिका प्रभावित भएपछि संस्थापन पक्षले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्ने रणनीति अघि सारेको हो।

विशेष महाधिवेशनको आह्वान संस्थापन पक्षले नियमित महाधिवेशन सार्ने तयारी गरेपछि महामन्त्रीद्वय गगन थापा और विश्वप्रकाश शर्माले भने ‘विद्रोही’ कदम चालेका छन्। उनीहरूले बिहीबार साँझ नै संयुक्त वक्तव्य जारी गर्दै नियमित महाधिवेशन स्थगन भएको घोषणा गरेका छन् र विधानअनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा ‘विशेष महाधिवेशन’ मा होमिन आह्वान गरेका छन्।

महामन्त्रीद्वयको अडान पुसभित्रै विशेष महाधिवेशन सम्पन्न गर्नुपर्ने छ। उनीहरूले पुस २७ र २८ गतेका लागि काठमाडौँको भृकुटीमण्डप समेत बुक गरिसकेका छन्। महामन्त्री थापा राजनीतिक प्रतिवेदन लेखनका लागि धुलिखेल पुगेका छन् भने शर्मा व्यवस्थापनमा जुटेका छन्।

दुई धारको टकराव संस्थापन पक्ष आगामी फागुन २१ को निर्वाचनअघि महाधिवेशन गर्दा पार्टी विभाजन हुन सक्ने र निर्वाचन प्रभावित हुने तर्क गरिरहेको छ। तर, इतर पक्ष (गगन–विश्वप्रकाश समूह) भने नेतृत्वले महाधिवेशन टार्न खोजेको र पार्टीलाई विधानसम्मत चलाउन विशेष महाधिवेशन अनिवार्य भएको बताउँदै आएका छन्।

कार्यवाहक सभापति खड्काले कार्यसम्पादन समितिको बैठकमा सहमति जुटाउने प्रयास गरे पनि महामन्त्रीहरू आफ्नो अडानबाट पछि नहटेपछि कांग्रेसभित्रको आन्तरिक कलह उत्कर्षमा पुगेको छ। अब कांग्रेस नियमित महाधिवेशनतिर जान्छ वा महामन्त्रीहरूले बोलाएको विशेष महाधिवेशनतिर, त्यसले पार्टीको भावी दिशा तय गर्ने देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *