मोटरसाइकल दुर्घटनामा इलामका युवकको मृत्यु

पाँचथर । पाँचथरको राँके–रवि सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ भएको उक्त दुर्घटनामा इलामको फाकफोकथुम–४ का ३३ वर्षीय सुवास सारु मगरको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बा९९प ८८०१ नम्बरको क्रसफायर मोटरसाइकल धोद्रे भन्ने स्थानमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो । सप्तमीबाट रवितर्फ गइरहेका मगर दुर्घटना लगत्तै गम्भीर घाइते भएका थिए ।

घाइते मगरलाई उपचारका लागि तत्काल प्राथमिक स्वास्थ्य केन्द्र रवि पुर्‍याइएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मृतकको शवलाई पोष्टमार्टमका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार अर्का व्यक्ति काशीनाथ मगर भने सामान्य घाइते भएका छन् । सडकमा मोटरसाइकल अनियन्त्रित हुनु नै दुर्घटनाको मुख्य कारण रहेको प्रहरीको प्रारम्भिक अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *