‘नियमित महाधिवेशन सम्भव भएन, विकल्पमा विशेष महाधिवेशन’
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित १५औँ महाधिवेशन स्थगित भएको जानकारी दिएका छन्। बिहीबार साँझ एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले नियमित महाधिवेशनको सट्टा अब ‘विशेष महाधिवेशन’ नै एकमात्र विकल्प रहेको स्पष्ट पारेका हुन्।
यसअघि कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६, २७ र २८ गतेका लागि तय गरिएको थियो। मंसिर १५ गतेको केन्द्रीय कार्यसमिति बैठकले निर्धारण गरेको कार्यतालिका अनुसार नियमित महाधिवेशन समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि यसलाई स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग दर्ता गराएकाले अब विधानको दफा १७(२) बमोजिम उक्त प्रक्रियालाई अगाडि बढाइने महामन्त्रीद्वयले बताएका छन्।
पार्टीको क्रियाशील सदस्यता नवीकरणको प्रगतिबारे जानकारी दिँदै विज्ञप्तिमा हालसम्म ५ लाख ७९ हजार ३९५ सदस्यको नवीकरण सम्पन्न भइसकेको जनाइएको छ। खोटाङ, बारा, कञ्चनपुर र कैलाली जिल्लाको प्रक्रिया टुङ्गिएपछि कुल संख्या ६ लाख नाघ्ने अनुमान गरिएको छ। विशेष महाधिवेशन सम्बन्धी आगामी कदमहरू सम्भव भएसम्म सर्वसम्मतिले अगाडि बढाइने प्रतिवद्धता समेत उनीहरूले व्यक्त गरेका छन्।
