ताप्लेजुङमा अब साताको तीन दिन उडान

विराटनगर । नेपाल वायुसेवा निगमले काठमाडौँ-ताप्लेजुङ हवाई रुटमा उडान संख्या थप गरेको छ। यसअघि सातामा दुई दिन सोमबार र शुक्रबार मात्र उडान गर्दै आएको निगमले अब बुधबार पनि उडान भर्ने निर्णय गरेको हो। यात्रुको बढ्दो चापलाई मध्यनजर गर्दै सुकेटार विमानस्थलमा थप एक उडान गर्ने निर्णय गरिएको निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज नारायण कुमार कार्कीले जानकारी दिए।

निगमसँग हाल दुई वटा ट्विनअटर जहाज सञ्चालनमा रहेकाले उडान थप्न सहज भएको हो। नयाँ तालिका अनुसार अब साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ। काठमाडौँबाट ताप्लेजुङ आउँदा फर्कने इन्धन समेत सँगै बोक्नुपर्ने प्राविधिक कारणले आउने समयमा १३ देखि १४ जना र फर्कने समयमा १५ देखि १६ जनासम्म यात्रु बोक्ने गरिएको छ। यस रुटको भाडादर प्रतिव्यक्ति ९ हजार ४०० रुपैयाँ तोकिएको छ। हाल सुकेटारमा निगमले मात्रै नियमित उडान सेवा दिँदै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *