पूर्वगृहमन्त्री रमेश लेखकमाथिको भ्रमण प्रतिबन्ध फुकुवा
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको जाँचबुझ गर्न गठित आयोगले पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाएको भ्रमण प्रतिबन्ध फुकुवा गरेको छ। आयोगको सचिवालयले एक सूचना जारी गर्दै लेखकको विदेश भ्रमण र काठमाडौँ उपत्यका छोड्न नपाउने यसअघिको निर्णयलाई हटाएको जानकारी दिएको हो।
अनुसन्धानको सिलसिलामा आयोगले गत असोज १२ गते लेखकलाई आयोगको अनुमतिबिना उपत्यका बाहिर जान र विदेश भ्रमण गर्न रोक लगाउने निर्णय गरेको थियो। घटनाको छानबिनका क्रममा बयान प्रक्रिया र आवश्यक कार्यहरू सम्पन्न भइसकेकाले उक्त प्रतिबन्ध हटाउने निर्णय भएको आयोगकी शाखा अधिकृत रेश्मा बुढा क्षेत्रीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।
आयोगले यस निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयलाई समेत गराएको छ। घटनाको थप अनुसन्धान गरिरहेको आयोगले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ।
