एसईई : ‘होम सेन्टर’ राख्न नपाइने
फाइल तस्बिर
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को परीक्षा केन्द्र निर्धारणका लागि नयाँ मापदण्ड सार्वजनिक गरेको छ। बोर्डले देशभरका शिक्षा विकास तथा समन्वय इकाइहरूलाई पत्र लेख्दै पुस मसान्तभित्र केन्द्र निर्धारण गरी माघ पहिलो हप्ताभित्र विवरण पठाउन निर्देशन दिएको छ।
परीक्षाको मर्यादा र निष्पक्षता कायम गर्न बोर्डले यस पटक केही कडा व्यवस्था गरेको छ। नयाँ व्यवस्था अनुसार कुनै पनि विद्यालयले आफ्नै विद्यालयका विद्यार्थीका लागि परीक्षा केन्द्र (होम सेन्टर) राख्न पाउने छैनन्। साथै, दुई विद्यालयबीच आलोपालो गरी एउटाले अर्कोलाई केन्द्र दिने (पारस्परिक केन्द्र) व्यवस्थामा पनि रोक लगाइएको छ। एउटा केन्द्रमा कम्तीमा दुई वा सोभन्दा बढी विद्यालयका विद्यार्थीहरू सहभागी हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ।
केन्द्र निर्धारण गर्दा परीक्षार्थी संख्यालाई पनि आधार मानिएको छ। दुर्गम र हिमाली क्षेत्रमा कम्तीमा १५० जना, पहाडी क्षेत्रमा २५० जना र तराई तथा उपत्यकामा ३०० देखि ४०० जनासम्म परीक्षार्थी हुने गरी केन्द्र कायम गर्नुपर्नेछ। तोकिएको संख्याभन्दा कम विद्यार्थी भएमा त्यसको व्यवस्थापनको जिम्मेवारी सम्बन्धित इकाइले लिनुपर्नेछ।
प्राविधिक धारका विद्यार्थीका लागि छुट्टै केन्द्रको व्यवस्था गरिनेछ भने अपाङ्गता भएका परीक्षार्थीहरूका लागि पायक पर्ने स्थानमा विशेष व्यवस्था मिलाइने बोर्डले जनाएको छ। विद्यार्थीले तोकिएको केन्द्रभन्दा बाहिरबाट परीक्षा दिएमा उनीहरूको परीक्षा रद्द हुनसक्ने चेतावनी समेत दिइएको छ।
