सुनसरीमा सशस्त्र प्रहरीको गोलीले चालकको मृत्यु, सीमा क्षेत्र तनावग्रस्त
विराटनगर । सुनसरीको कोशी गाउँपालिकामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक सिटी सफारी चालकको मृत्यु भएको छ । तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल (एपीएफ) को टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको ज्यान गएको हो ।
सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार बिहीबार बिहान करिब १ः१० बजे कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा उक्त घटना भएको हो । मृतक साह सोही वडाका स्थायी बासिन्दा हुन् ।
कसरी भयो घटना ?
मृतक साहले आफ्नो सिटी सफारीमा भारतबाट अवैध रूपमा ८-१० बोरा चिनी लोड गरेर नेपालतर्फ ल्याउँदै गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोही क्रममा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिन खोजेको थियो ।
मालसामान ओसारपसारको विषयलाई लिएर सशस्त्र प्रहरी र साहबीच केही समय विवाद भएको र विवादले उग्र रूप लिएपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । यद्यपि, प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको हो वा अन्य कारणले भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ ।
शव उठाउन अवरोध, स्थिति तनावपूर्ण
प्रहरीको गोलीबाट स्थानीयको मृत्यु भएपछि बिहानैदेखि पुरी टोल क्षेत्र तनावग्रस्त बनेको छ । आक्रोशित स्थानीय बासिन्दाले सशस्त्र प्रहरीको ज्यादती भन्दै विरोध प्रदर्शन गरिरहेका छन् । आक्रोशित भिडले अहिलेसम्म मृतकको शव उठाउन दिएको छैन ।
दोषी प्रहरीलाई कारबाही हुनुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग स्थानीयले राखेका छन् । घटनास्थलमा थप अप्रिय घटना हुन नदिन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता खड्काका अनुसार अहिले स्थानीय जनप्रतिनिधि र पीडित पक्षसँग शव उठाउने विषयमा वार्ता भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
