‘निराशा चिर्न नयाँ शक्तिहरू एकजुट हुनुपर्छ’

इलाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलाम जिल्ला समितिले देशमा व्याप्त गहिरो निराशा, अविश्वास र दिशाहीनता अन्त्य गर्न सम्पूर्ण नयाँ, वैकल्पिक र सुधारमुखी शक्तिहरूलाई एकीकृत हुन आह्वान गरेको छ।

जिल्ला सभापति टिका ओडारीद्वारा जारी अपीलमा लामो समयदेखिको असफल सत्ता सञ्चालन प्रणाली, भ्रष्टाचार र नागरिकप्रतिको जवाफदेहिताको अभावले जनतामा चरम निराशा पैदा गरेको उल्लेख छ। यो निराशालाई चिर्दै देशलाई सकारात्मक दिशातर्फ डोऱ्याउन नयाँ शक्तिहरूबीचको एकता र सहकार्य अपरिहार्य रहेको विज्ञप्तिमा जनाइएको छ।

‘नयाँ शक्तिहरूबीचको एकीकरण कुनै व्यक्ति वा पार्टीको स्वार्थका लागि नभई नागरिकमा आशा पुनःस्थापित गर्न र आगामी पुस्ताको भविष्य सुरक्षित गर्न गरिएको दृढ संकल्प हो,’ अपीलमा भनिएको छ। अबको समय निराशालाई आशामा, मौनतालाई जनसहभागितामा र आलोचनालाई समाधानमा बदल्ने बेला भएको रास्वपा इलामको ठहर छ।

विज्ञप्ति मार्फत इलामका सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई राजनीतिबाट टाढा नबस्न र सही परिवर्तनका पक्षमा संगठित हुन आग्रह गरिएको छ। देशले नयाँ सोच, संस्कार र नेतृत्व खोजिरहेको सन्दर्भमा युवा, श्रमिक, किसान, पेशाकर्मी र बुद्धिजीवीहरूलाई सकारात्मक राजनीतिक हस्तक्षेपका लागि गोलबद्ध हुन आह्वान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *