शीतलहरले कठ्याङ्ग्रिँदो चिसो, विद्यालयहरू बन्द
प्रतीकात्मक तस्बिर
काठमाडौँ। देशका विभिन्न भागमा शीतलहरसँगै अत्यधिक चिसो बढेपछि सुनसरी र दाङका स्थानीय तहहरूले विद्यालयमा बिदा दिने निर्णय गरेका छन्। चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै पुस १६ गतेदेखि १८ गतेसम्मका लागि पठनपाठन बन्द गरिएको हो।
सुनसरीका सबै स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा घोषणा गरेका छन्। इटहरी उपमहानगरपालिकाले ‘मीन पचास’ बिदाबाट कट्टा हुने गरी र अन्य पालिकाहरूले सञ्चित वार्षिक बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गराएका हुन्। इनरुवा, दुहवी, कोशी, हरिनगर र रामधुनी लगायतका पालिकाले अभिभावकहरूलाई बालबालिकालाई घरमै न्यानोमा राख्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
दाङमा पनि शीतलहरले जनजीवन प्रभावित भएपछि घोराही उपमहानगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले विद्यालयहरू बन्द गरेका छन्। यी पालिकाहरूले पनि पुस १६, १७ र १८ गते तीन दिनका लागि बिदा दिएको सूचना जारी गरेका हुन्।
चिसोले विद्यार्थीहरूको स्वास्थ्यमा समस्या देखिन सक्ने भन्दै जनप्रतिनिधिहरूले विद्यालय बन्द गर्नुपरेको बताएका छन्।
