सन् २०२६ को ज्योतिषीय भविष्यवाणी: ग्रहको चाल र विश्वमा प्रभाव

सन् २०२६ मा ग्रहहरूको वक्री, मार्गी, र अतिचार चाल, साथै उच्च र नीच अवस्थाले विश्वमा कस्तो प्रभाव पार्ला?

सामान्यतया ४२ दिन एउटा राशिमा रहने मङ्गल ग्रह यसपटक नीच राशि (कर्कट) र सिंह राशिमा ओहोरदोहोर गर्दै करिब ९ महिना रहनेछन्। पुनः बृहस्पति (गुरु) सँगको युति, छाया ग्रह राहुको राशि परिवर्तन र अन्य ग्रहणहरूको अवस्थालाई मुण्डन ज्योतिष संहिताको आधारमा विश्लेषण गर्दा देहाय बमोजिमका फलहरू देखिन सक्छन्:

विश्वका लागि चुनौतीपूर्ण : वर्ष ईस्वी संवत् २०२५ को तुलनामा २०२६ अझ बढी हानिकारक र चुनौतीपूर्ण सावित हुने देखिन्छ। यो वर्ष विश्वका लागि विभिन्न दृष्टिकोणले कठिन रहने सम्भावना छ।

दुर्लभ सूर्य ग्रहण र प्राकृतिक विपत्ति : फेब्रुअरी २६ (वि.सं. २०८२ फागुन १४ गते) मा शनिबलायाकार (रिङ युक्त) सूर्य ग्रहण लाग्नेछ, जुन निकै दुर्लभ मानिन्छ। त्यस्तै, अगस्ट २६ मा खग्रास सूर्य ग्रहण लाग्नेछ। यी दुवै ग्रहणको प्रत्यक्ष दृश्य नेपाल र भारतमा नदेखिए पनि यसको वैश्विक परिणाम भने खतरनाक हुन सक्छ। खासगरी पूर्वी गोलार्धका युरोप, अष्ट्रेलिया, न्युजिल्यान्ड, अन्टार्काटिका र अफ्रिकामा यसको ठूलो असर पर्न सक्छ।

भूगर्भका ट्याक्टोनिक प्लेटहरू सर्ने हुनाले ९ रेक्टर स्केलसम्मको भूकम्प जान सक्ने र हजारौँ वर्षदेखि सुसुप्त रहेका ज्वालामुखीहरू अचानक विष्फोट हुन सक्ने योग देखिन्छ। यसले गर्दा केही सहर वा राज्यहरू नै लोप हुने अवस्था आउन सक्छ। हिमालय बेल्ट र समुद्र नजिकका देशहरूमा बढी क्षति हुन सक्छ। यद्यपि, नेपाल ‘हिमवत खण्ड’ र सुरक्षित भौगोलिक अवस्थितिका कारण ठूलो क्षतिबाट जोगिने देखिन्छ।

मङ्गल र बृहस्पतिको भूमिका : मङ्गल ग्रह मेषदेखि मिथुनसम्म मन्द गतिमा चल्ने र जुन महिनादेखि कर्कट राशिमा लामो समय बिताउनेछ। मङ्गल सिंहबाट पुनः कर्कटमा फर्कनु र गुरुसँग योग निर्माण हुनुले विश्वमा युग परिवर्तन र धर्म स्थापनाका लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ।

पश्चिमी राष्ट्र र आर्थिक सङ्कट : युरोप र अमेरिकाका कतिपय देशहरूले ठूलो आर्थिक नोक्सानी र मानवीय क्षतिको सामना गर्नुपर्ने देखिन्छ। विश्वको यो भू–राजनीतिक र प्राकृतिक उथलपुथलको असर नेपालजस्तो सानो भूपरिवेष्ठित मुलुकमा पनि कुनै न कुनै रूपमा पर्नेछ।

धार्मिक र सांस्कृतिक द्वन्द्व : आगामी जुन महिनापछि विभिन्न धर्महरूबीच धार्मिक द्वन्द्व र रक्तपात बढ्न सक्ने सङ्केत देखिन्छ। केही कट्टरपन्थी विचारहरूको पतनको दिशा पनि यसै समयबाट सुरु हुनेछ।

तपोभूमि नेपाल र पुण्यात्माहरूको उदय : नेपाल एक पवित्र तपोभूमि हो। यहाँ जन्मने आत्माहरूले पूर्वजन्मको धर्म र पुण्यको आधारमा जन्म लिएका हुन्छन्। विश्वमा पुण्य कमाउने र असल कर्म गर्ने सर्वश्रेष्ठ स्थान नेपाल नै हो। कलियुगमा केही मानिस नास्तिक हुनु स्वाभाविक भए पनि देवस्व, पितृस्व र राज्यको धन हडप्ने दुष्टात्माहरूको पतन अब निकट छ। धैर्य धारण गर्ने पुण्यात्माहरूले यो परिवर्तन प्रत्यक्ष देख्न पाउनेछन्।

‘जेनजी’ र धर्म स्थापना : मैले यसअघि पनि उल्लेख गरेको थिएँ कि धर्म स्थापनाका लागि ई.सं. २००२ देखि २००६ को बीचमा ठूला तपस्वी, ऋषिमुनि र योद्धाहरूले जन्म लिएका छन्। अहिले ‘जेनजी’ का रूपमा देखिइरहेका युवाहरूमा ती पुण्यात्माहरूको अंश छ। यिनै युवाहरूले आगामी दिनमा धर्म र सत्यको स्थापनाका लागि नेतृत्वदायी भूमिका खेल्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *