बालेन शाह बन्ने भए भावी प्रधानमन्त्रीको उम्मेदवार !

काठमाडौँ। नेपाली राजनीतिको आकाशमा एउटा नयाँ समीकरणको उदय भएको छ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच ‘बृहत् एकता’ गर्ने सहमति जुटेसँगै देशको राजनीतिले नयाँ मोड लिएको हो।

आज आइतबार भएको औपचारिक सहमति अनुसार रास्वपाको नेतृत्व तहमा ठूलो कार्यविभाजन गरिएको छ। त्यसअन्तर्गत रवि लामिछाने पार्टीको केन्द्रीय सभापतिमै कायम रहनेछन् भने आगामी प्रतिनिधि सभाको निर्वाचनपछि बालेन शाहलाई संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय भएको छ।

यो एकताको पृष्ठभूमि तयार गर्न दुवै पक्षबीच लामो समयदेखि सघन संवाद र गृहकार्य भइरहेको थियो। विशेष गरी गत सोमबारदेखि दुई नेताबीच भएका निरन्तर भेटघाट र छलफलले यो सहमतिलाई निष्कर्षमा पुर्याएको हो।

पटक–पटकका औपचारिक तथा अनौपचारिक बैठकहरूमा साझा राजनीतिक दृष्टिकोण, नेतृत्वको बाँडफाँट र भावी कार्यदिशाबारे गहिरो विमर्श भएपछि अन्ततः दुवै शक्ति एउटै झण्डामुनि गोलबद्ध हुन तयार भएका हुन्।

सहमति पत्रमा सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा आधारित बहुलवादी लोकतान्त्रिक प्रणालीमार्फत असल शासन कायम गर्ने साझा संकल्प गरिएको छ।

विशेष गरी भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूले सडकबाट उठाएका आवाज, त्यसमा पनि भदौ २३ र २४ को ुजेनजीु आन्दोलनका एजेन्डाहरूलाई संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका छन्। यो एकताले वर्षौँदेखि व्यवस्था परिवर्तनका लागि संघर्षरत युवा र आम नागरिकका आकांक्षाहरूलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ।

अबको यात्रामा रास्वपाको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउँदै योग्य, समावेशी र सार्वजनिक छवि भएका युवा अभियन्ता तथा विज्ञहरूलाई जिम्मेवारी दिइनेछ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त र चुनाव चिन्ह ‘घण्टी’ लाई नै मूल आधार मानेर अघि बढ्ने निर्णय गर्दै यो बृहत् मोर्चाले अन्य परिवर्तनकामी र सुसंस्कृत राजनीतिक शक्तिहरूलाई समेत सहकार्यका लागि खुल्ला आह्वान गरेको छ। यस एकताले आगामी निर्वाचनको समीकरण र शक्ति सन्तुलनमा ठूलो प्रभाव पार्ने निश्चित देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *