क्यानाडामा नेपाली कामदारको मृत्यु
क्यानाडा । अन्टारियोको लन्डनस्थित नेपाली समुदायका सदस्य गगन बहादुर गुरुङको निधनपछि उनको परिवारलाई आर्थिक सहयोग पुर्याउने उद्देश्यले आपत्कालीन सामुदायिक कोष संकलन अभियान सुरु गरिएको छ।
नेप्लिज कम्युनिटी अफ लन्डन (एनसिएल) ले विज्ञप्ति जारी गर्दै गो–फन्ड–मी पेजमार्फत सहयोग संकलन भइरहेको जानकारी दिएको हो। यस अभियानको उद्देश्य उपचार र अन्त्येष्टिमा भएको करिब १५ हजार डलर ऋण भुक्तानी तथा परिवारलाई सहयोग गर्नु रहेको संस्थाले जनाएको छ।
गुरुङ कामदार भिसामा क्यानाडामा रहेकाले उनले पूर्ण स्वास्थ्य बीमा सुविधा प्राप्त गर्न नसकेको उल्लेख गर्दै संस्थाले उपचार र अन्त्येष्टिको खर्चले परिवारलाई गम्भीर आर्थिक संकटमा पारेको जनाएको छ। हाल उनकी पत्नी नम्रता भट्ट गुरुङ र १२ वर्षीया छोरी क्यानाडामै छन्। गुरुङ परिवार गत अप्रिलमा क्यानाडा आएको थियो।
संस्थाका अनुसार श्रीमती गुरुङले श्रीमानको उपचार र स्याहारमा समय दिनुपरेका कारण नियमित काम गर्न नसक्दा परिवारको दैनिकी सञ्चालनमै कठिनाइ आएको छ। यसका साथै परिवार गहिरो भावनात्मक पीडाबाट पनि गुज्रिरहेको छ।
गुरुङलाई डिसेम्बरको सुरुतिर स्वास्थ्यमा समस्या देखिएपछि लन्डनस्थित भिक्टोरिया अस्पताल भर्ना गरिएको थियो। परीक्षणका क्रममा उनलाई अन्तिम चरणको फोक्सोको क्यान्सर पुष्टि भएको संस्थाको विज्ञप्तिमा जनाएको छ। उपचारकै क्रममा डिसेम्बर २१ मा उनको निधन भएको हो।
एनसिएलले समुदायका सम्पूर्ण सदस्य तथा सर्वसाधारणलाई आफ्नो क्षमता अनुसार सहयोग गर्न र यस अभियानलाई व्यापक बनाउन सहयोग मागेको छ।
(‘नेपाल टच’बाट)
