उद्यमीहरूलाई खेलकुदमा विशेष छुट

विराटनगर । कन्फेडेरेसन अफ नेपाली इन्डस्ट्रिज यंग इन्टरप्रेन्योर्स फोरम (सिएनआइवाइइएफ) कोशी र विराटनगरस्थित विराट स्पोर्ट्स जोनबीच व्यावसायिक साझेदारीका लागि समझदारीपत्रमा हस्ताक्षर भयो। सम्झौताअनुसार सिएनआइवाइइएफ कोशीका सदस्यहरूले स्पोर्ट्स जोनमा उपलब्ध विभिन्न खेलकुद गतिविधिहरूमा विशेष छुट पाउने छन्।

सम्झौतापछि सदस्यहरूबीच प्रतिस्पर्धात्मक भावना र उत्साह बढाउने उद्देश्यले ई-कार्टिङ प्रतियोगिता आयोजना गरियो। उक्त प्रतियोगितामा मुदित गोल्छा प्रथम, मयंक साह द्वितीय र उत्सव गोयल तृतीय भए। सिएनआइवाइइएफले आफ्ना सदस्यहरू तथा सामाजिक सञ्जालमार्फत विराट स्पोर्ट्स जोनको प्रवर्द्धन गर्ने सहमति समेत गरेको छ।

विराट स्पोर्ट्स जोनका बोर्ड सदस्य धर्खान कतेलले ८ महिनाको योजनापछि गत महिनादेखि स्पोर्ट्स जोन सञ्चालनमा आएको जानकारी दिए। स्पोर्ट्स जोन युवाहरूको खेलकुद क्षमता विकासका लागि प्रभावकारी प्लेटफर्म बन्ने उनले विश्वास व्यक्त गरे।

त्यसैगरी, प्रबन्ध निर्देशक तथा बोर्ड अध्यक्ष हरि बजगाईंले युवाहरूलाई मोबाइल फोनको अत्यधिक प्रयोगबाट टाढा राखी स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्न केन्द्र स्थापना गरेको बताए। आर्थिक अनिश्चितताका बावजुद जोखिम मोलेर व्यावसायिक प्रशिक्षकहरू नियुक्त गर्दै काम सुरु गरेको उनले उल्लेख गरे।

सिएनआइवाइइएफ कोशीका अध्यक्ष सुसन प्रधानले उद्यमीहरूका लागि मानसिक सन्तुलन र विश्राम आवश्यक रहेको बताए। विराट स्पोर्ट्स जोनले व्यावसायिक जीवनसँगै स्वस्थ मनोरञ्जनको अवसर प्रदान गर्ने उनको भनाइ थियो। कोशी प्रदेशमै पहिलो पटक ई-कार्टिङ, फुटसल, क्रिक्सल र स्केटिङ जस्ता सुविधा एकै स्थानमा उपलब्ध गराइएको आधुनिक केन्द्रका रूपमा उनले यसलाई चिनाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *