‘चुनाव हुनेमा द्विविधा नराखौं, हामी अघि बढिसक्यौँ’

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोग तयारीमा धेरै अगाडि बढिसकेको र तोकिएको मितिमा चुनाव हुनेमा कुनै द्विविधा नरहेको बताएका छन्। आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचन हुँदैन कि भन्ने आशङ्का नपाल्न आग्रह गरे।

‘निर्वाचन हुन्छ कि हुँदैन भन्ने बहसबाट आयोग अगाडि बढिसक्यो, निर्वाचन हुँदैन भन्ने शब्द हाम्रो डिक्सनरीबाट हटिसक्यो,’ भण्डारीले भने, ‘आयोग निष्ठा र अठोटका साथ अघि बढेको छ र धेरै तयारी गरिसक्यो।’ उनले १३ र १४ पुसमा दलहरूले समानुपातिकतर्फको बन्द सूची बुझाउनुपर्ने कार्यतालिका समेत सार्वजनिक गरे।

निर्वाचनको मुखमा गृह मन्त्रालयले प्रशासनिक हेरफेरलाई तीव्रता दिएको छ। मन्त्रालयले शुक्रबार एक सूचना निकाल्दै १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गर्‍यो। जसअनुसार भोजपुरमा राजन पौडेल, पर्वतमा लक्ष्मीप्रसाद पौडेल र खोटाङमा रेखा कँडेललाई पठाइएको छ।

यसैबीच, सर्वोच्च अदालतले जेनजी आन्दोलनमा भएको दमन र आगजनीको छानबिन गर्न गठित आयोगविरुद्धको रिट खारेज गरिदियो। यो फैसलासँगै आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य खोज्ने बाटो खुल्यो। सरकारले फागुन २१ को निर्वाचनअघि नै यो प्रतिवेदन ल्याउने तयारी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *