नयाँ शक्तिको उदय कि राजनीतिक ध्रुवीकरण ?

काठमाडौँ । निर्वाचनको संघारमा नेपाली राजनीतिमा एउटा नयाँ र शक्तिशाली समीकरण बन्ने संकेत देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) शाहबीच आज शुक्रबार दिउँसो हुने भनिएको वार्तालाई ‘निर्णायक’ मानिएको छ।

यो वार्ताले आगामी फागुन २१ को निर्वाचनमा पुराना राजनीतिक शक्तिहरूलाई चुनौती दिने गरी एउटा वृहत् ‘वैकल्पिक मोर्चा’ निर्माण गर्ने अपेक्षा गरिएको छ। रवि र बालेनबीच औपचारिक भेट हुनुअघि दुवै पक्षका दोस्रो तहका नेताहरूले सहमतिको विस्तृत खाका तयार पारिरहेका छन्।

रास्वपाका तर्फबाट गठित वार्ता समिति र बालेनका तर्फबाट कुमार बेन, असिम शाह लगायतका सहयोगीहरू बुँदागत समझदारीका लागि जुटेका छन्। स्रोतका अनुसार यो समझदारीमा केवल चुनावी तालमेल मात्र होइन, निर्वाचनपछिको प्रधानमन्त्रीको उम्मेदवार, पार्टीको वरीयता, सिट बाँडफाँट र समानुपातिक सूची जस्ता गम्भीर विषयमा समेत निर्क्योल गरिनेछ।

बालेन शाहले आफूलाई केवल एक व्यक्तिका रूपमा मात्र नभई एउटा वृहत् शक्तिको केन्द्रका रूपमा प्रस्तुत गरेका छन्। उनले ‘उज्यालो नेपाल पार्टी’ का कुलमान घिसिङ पनि आफूसँगै रहेको भन्दै रास्वपासँग एकमुष्ठ प्याकेजमा सहमति गर्न खोजेका छन्। यसअघि उनले ललितपुरको ज्वागलमा गरेको राजनीतिक दौडधुपले यो समीकरणलाई थप बलियो बनाएको छ।

बुधबार र बिहीबार बालेनले सीके राउत, रेशम चौधरी, भगवान कोइराला, ज्ञानेन्द्र शाही, सागर ढकाल र सम्भव सिरोहियादेखि जेनजी अभियन्ताहरू रक्षा बम र केपी खनालसम्मलाई भेटेर सुझाव लिएका थिए। यो भेटघाटको सन्देश स्पष्ट थियो- यदि रास्वपासँग सम्मानजनक सहमति भएन भने बालेन आफ्नै नेतृत्वमा ‘देश विकास पार्टी’ र लौरो चुनाव चिह्न लिएर अघि बढ्ने मुडमा छन्।

सोमबार राति १ बजेसम्म बालेनसँग छलफल गरेका रवि लामिछानेले सुरुमा बालेनलाई प्रधानमन्त्री स्वीकार्ने विषयमा स्पष्ट प्रस्ताव नदिए पनि अहिले उनीमाथि दबाब बढेको देखिन्छ। बालेनले अन्य साना दल र स्वतन्त्र अभियन्ताहरूलाई समेटेर छुट्टै मोर्चा बनाउने तयारी गरेपछि रास्वपाले पुनः वार्तालाई तीव्रता दिएको हो। बिहीबार रवि आफैँ बालेनलाई भेट्न ज्वागल पुग्नुले पनि रास्वपा यो समीकरण बचाउन इच्छुक रहेको सङ्केत गर्छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यो वार्ता सफल भएमा नेपाली राजनीतिमा ‘परम्परागत दल’ भर्सेस ‘नयाँ शक्ति’ बीचको सिधा प्रतिस्पर्धा हुनेछ। बालेनले अघि सारेका सर्तहरूमध्ये कार्यकारी नेतृत्व र नीतिगत स्पष्टता मुख्य हुन्। यदि रवि लामिछानेले बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्न र शक्ति बाँडफाँटमा लचकता देखाउन सके भने यो समीकरणले फागुन २१ को निर्वाचनमा अनपेक्षित परिणाम ल्याउन सक्छ। अन्यथा, ‘लौरो’ र ‘घण्टी’ अलग-अलग मैदानमा उत्रिएमा त्यसको प्रत्यक्ष फाइदा भने पुराना दलहरूलाई नै पुग्ने देखिन्छ। आज दिउँसो हुने वार्ताले नेपालको आगामी राजनीतिक दिशा तय गर्ने निश्चित छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *