क्रिसमस पर्व मनाउँदै ईसाई धर्मावलम्बी
काठमाडौँ। ईसाई धर्मका संस्थापक जिसस क्राइष्ट (येशू ख्रीष्ट) को जन्म जयन्तीको सम्झनामा आज बिहीबार क्रिसमस पर्व हर्षोल्लासका साथ मनाइँदैछ। हरेक वर्ष डिसेम्बर २५ तारिखका दिन मनाइने यो पर्वलाई प्रेम, शान्ति र सद्भावको उत्सवका रूपमा लिइन्छ।
धार्मिक विश्वास अनुसार दुई हजार वर्षअघि इजरायलको बेथलेहममा येशू ख्रीष्टको जन्म भएको थियो। उनलाई संसारमा शान्ति, प्रेम र मानवताको सन्देश फैलाउने मुक्तिदाताका रूपमा मानिन्छ।
ईसाई धर्मग्रन्थ अनुसार येशूले मानिसहरूलाई आपसी क्षमा, सेवा र सद्भावको मार्ग देखाएका थिए। त्यसैले उनको जन्मदिनलाई विशेष उत्सवको रूपमा मनाउन थालिएको हो।
क्रिसमसमा सजाइने ‘क्रिसमस ट्री’ (सधैँ हरियो रहने रुख) लाईजीवनको निरन्तरता र आशाको प्रतीक मानिन्छ भने सान्टा क्लजलाई खुसी र उपहार बाँड्ने दयालु पात्रको रूपमा लिइन्छ।
नेपालमा पनि पछिल्ला वर्षहरूमा क्रिसमस मनाइन थालेको छ। काठमाडौंको ठमेल, दरबारमार्ग, बौद्ध र ललितपुरका विभिन्न क्षेत्रमा क्रिसमसको विशेष सजावट गरिएको छ। पर्यटकीय नगरी पोखरा, चितवन, धरान, विराटनगर र लुम्बिनी लगायतका स्थानमा विदेशी पर्यटक र स्थानीयहरू मिलेर यो पर्व मनाइरहेका छन्। होटल र मलहरूमा सजाइएका क्रिसमस ट्री र झिलिमिली बत्तीले शहरको माहोल उत्सवमय बनाएको छ।
देशभरका चर्चहरूमा बिहानैदेखि विशेष प्रार्थना र भजन आयोजना गरिएका छन्। यस अवसरमा ईसाई धर्मालम्बीहरूले चर्चमा भेला भई देशमा शान्ति र सुव्यवस्थाको कामना गर्दै सामूहिक प्रार्थना गर्छन्।
नेपाल सरकारले क्रिसमसको उपलक्ष्यमा आज देशभर सार्वजनिक बिदासमेत दिएको छ। समाजका विभिन्न वर्ग र समुदायका मानिसहरूले पनि सामाजिक सञ्जालमार्फत एकअर्कालाई क्रिसमसको शुभकामना साटासाट गरिरहेका छन्।
