एक हुँदै दुई राप्रपा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता गर्ने औपचारिक सहमति भएको छ। दुवै पार्टीका शीर्ष नेताहरूबीच भएको वार्तापछि पार्टी एकता गर्ने सहमति जुटेको हो।
राप्रपाका केन्द्रीय सदस्य हिक्मतजंग कार्कीका अनुसार एकताको औपचारिक घोषणा आगामी पुस १६ गते राष्ट्रियसभा गृहमा एक विशेष समारोहका बीच गरिनेछ। एकतासम्बन्धी सहमति पत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरिसकेका छन्।
पार्टी एकतासँगै कमल थापाको सम्मानजनक सहभागिता रहने सहमति भएको बताइएको छ। गत महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि थापाले राप्रपा परित्याग गरी आफ्नै नेतृत्वमा राप्रपा नेपाल गठन गरेका थिए।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा भएको यो एकतालाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ। विभाजित शक्तिहरू निर्वाचनको मुखमा एक ठाउँमा आउँदा राष्ट्रवादी शक्ति बलियो हुने विश्वास दुवै पक्षले लिएका छन्।
