रवि र बालेनको ‘मिडनाइट मिसन’ ले ल्याएको तरङ्ग
प्रतीकात्मक तस्बिर
काठमाडौँ। काठमाडौँको चिसो रातमा सोमबार राजनीतिक माहोल भने एक्कासी तातियो। कारण थियो- नयाँ पुस्ताका दुई प्रभावशाली ‘आइकन’ रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाह बीचको भेटवार्ता।
बेलुकी ७ बजे सुरु भएको वार्ता मध्यरात छिचोलेर बिहानको १ः३० बजे मात्र सकियो। यो सामान्य भेटघाट थिएन। कतिपयले यसलाई जेनजी आन्दोलन पछिको बदलिएको परिस्थितिमा पुराना दलहरूलाई चुनौती दिने एउटा अभियानको सुरुवात मानेका छन्।
मध्यरातको त्यो बन्द कोठाभित्रको मुख्य एजेन्डाले अहिले राजनीतिक बजार तताएको छ। बैठकमा सहभागी स्रोतको दाबी पत्याउने हो भने, रवि लामिछानेको रास्वपाले बालेन शाहलाई आगामी निर्वाचनमा ‘प्रधानमन्त्रीको उम्मेदवार’ को रूपमा अघि सार्ने प्रस्तावमा छलफल भएको थियो।
मंगलबार चितवन पुगेका रविले सञ्चारकर्मीहरूसँगको कुराकानीमा यसलाई थोरै ‘सस्पेन्स’ मा राखे। उनले भने, ‘अहिले नै त्यो चरणमा कुरा पुगेको छैन। कसलाई के दिने भनेर तपाइँले आफ्नो स्वाद अनुसार लेख्दै गर्नुस्, तर हामी प्रारम्भिक छलफलमै छौँ।’ रविको यो घुमाउरो जवाफले पनि भित्रभित्रै ठूलै खिचडी पाक्दै गरेको संकेत गर्छ।
यो ‘मिडनाइट मिसन’ रवि र बालेनमा मात्र सीमित छैन। रास्वपा उपसभापति डीपी अर्याल र बालेनका सहयोगीहरूका अनुसार यो मोर्चामा ऊर्जा मन्त्री कुलमान घिसिङ र धरानका मेयर हर्क साम्पाङलाई पनि एउटै छातामुनि ल्याउने तयारी छ।
रास्वपा र बालेन पक्षको बुझाइ छ– जेनजीको म्यान्डेट भनेकै ‘पुराना दलहरू विरुद्धको एकता’ हो। एक्लाएक्लै लड्दा शक्ति क्षयीकरण हुने डरले उनीहरू ‘सुपर अलायन्स’ बनाउन हदैसम्मको लचकता अपनाउन तयार देखिएका छन्।
लामिछाने कारागारबाट रिहा भएपछिको र बालेन पितृशोकमा परेको अवस्थामा भएको यो भेट निकै भावनात्मक पनि रह्यो। यो भेट लामो समयदेखिको संवादहीनता तोड्ने अवसर भनेर कतिपयले प्रतिक्रिया दिइरहेका छन्।
अहिलेको राजनीतिक तरल अवस्थामा रवि, बालेन, कुलमान र हर्क एकै ठाउँमा उभिए भने त्यसले कस्तो तरंग ल्याउला? सोमबारको मध्यरातमा सुरु भएको यो कथाको उत्कर्ष हेर्न अब धेरै कुर्नुपर्ने छैन।
