इलामको नामसालिङका असई देवानको निधन
ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मनिष देवानको निधन भएको छ। ताप्लेजुङबाट उदयपुरका लागि सरुवा भई रमाना समेत लिइसकेका देवानको अचानक निधन भएको हो।
इलामको माइजोगमाई गाउँपालिका-४, नामसालिङ घर भएका देवानको मृत्यु हृदयघातका कारण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदप्रसाद गौतमले घटनाको पुष्टि गर्दै हृदयघातका कारण उनको निधन भएको हुनसक्ने जानकारी दिए।
लामो समय ताप्लेजुङमा सेवा गरी नयाँ कार्यक्षेत्रका लागि प्रस्थान गर्ने तयारीमा रहेका देवानको निधनले प्रहरी वृत्तमा शोक छाएको छ। प्रहरीले घटनाको थप विवरण संकलन भइरहेको र पोस्टमार्टम लगायतका प्रक्रियापछि यकिन कारण खुल्ने जनाएको छ।
प्रतिक्रिया
