‘अनुमति लिने तर विद्यालय नचलाउने ?’ १०७ विद्यालय गायब !

काठमाडौँ । काठमाडौँ महानगरभित्र अनुमति लिएर पनि ‘बेपत्ता’ रहेका १०७ विद्यालयमाथि महानगरपालिकाले कडा डन्डा चलाउने भएको छ। कागजमा मात्रै अस्तित्वमा रहेका तर भौतिक रूपमा कतै नभेटिएका यस्ता ‘भूत’ विद्यालयहरूको अनुमति खारेजीको प्रक्रिया महानगरले औपचारिक रूपमै अगाडि बढाएको हो।

महानगरको नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार गरिएको स्थलगत अनुगमनका क्रममा यी १०७ विद्यालयहरू सञ्चालनमा नरहेको पुष्टि भएको थियो। यति ठूलो संख्यामा विद्यालयहरू गायब भेटिएपछि महानगरको शिक्षा विभागले आइतबार एक सूचना जारी गर्दै १५ दिने अन्तिम ‘अल्टिमेटम’ दिएको छ।

‘अनुमति लिने तर विद्यालय नचलाउने?’ भन्दै महानगरले अब यस्ता संस्थालाई झोलामै सीमित पार्न लागेको हो। सार्वजनिक गरिएको सूचीमा परेका विद्यालयहरू यदि अझै सञ्चालनमै छन् भने त्यसका प्रधानाध्यापक, सञ्चालक वा गुठीयारलाई प्रमाणसहित विभागमा हाजिर हुन भनिएको छ। तोकिएको १५ दिनभित्र सम्पर्कमा नआए वा सञ्चालनमा रहेको पुष्टि गर्न नसकेमा ती विद्यालयहरूलाई सदाका लागि बन्द (खारेज) गर्न कार्यपालिकामा सिफारिस गरिने विभागले चेतावनी दिएको छ।

पछिल्लो समय बालेन शाह नेतृत्वको महानगरले शिक्षा क्षेत्रमा रहेको विसंगति, अनधिकृत नाम र केवल नाम मात्रका विद्यालयहरू हटाएर शैक्षिक क्षेत्रलाई ‘सफा’ गर्ने अभियानलाई तीव्रता दिइरहेको छ। यो पछिल्लो एक्सनले शैक्षिक माफिया र पहुँचको भरमा अनुमति ओगटेर बस्नेहरूलाई ठूलो धक्का पुग्ने देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *