कक्षा १२ को परीक्षा आवेदन फाराम खुल्यो, म्याद: पुस मसान्त
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाका लागि आवेदन फाराम खुला गरेको छ। बोर्डले शैक्षिक सत्र २०८२/०८३ को वार्षिक कार्यतालिका अनुसार नियमित तथा आंशिक दुवै तर्फका विद्यार्थीका लागि परीक्षा आवेदन भर्न आह्वान गरेको हो। सूचना अनुसार साधारण समयभित्र परीक्षा शुल्क बुझाउन चाहने विद्यार्थीले २०८२ पुस मसान्तभित्र तोकिएको रकम दाखिला गरिसक्नुपर्नेछ भने उक्त अवधिमा छुटेकाहरूले माघ १५ गतेसम्म विलम्ब शुल्कसहित फाराम भर्न सक्ने व्यवस्था गरिएको छ।
यस पटकको परीक्षामा नियमिततर्फ रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ८२ भएका विद्यार्थीहरू सहभागी हुन पाउनेछन्। आंशिकतर्फ भने रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ७९, ८० र ८१ भएका परीक्षार्थीले मात्र आवेदन दिन पाउने बोर्डले स्पष्ट पारेको छ। नियमित परीक्षार्थी हुनका लागि कक्षा ११ को सैद्धान्तिकतर्फ न्यूनतम ‘डी’ ग्रेड र आन्तरिक वा प्रयोगात्मकतर्फ ‘सी’ ग्रेड प्राप्त गरेको हुनुपर्ने अनिवार्य सर्त राखिएको छ। विद्यार्थीले फारामका साथमा विद्यालयबाट प्रमाणित कक्षा ११ को ग्रेडसिट र रजिस्ट्रेसन कार्डको प्रतिलिपि समेत बुझाउनुपर्नेछ।
बोर्डले प्रति विद्यार्थी परीक्षा शुल्क ८०० रुपैयाँ तोकेको छ भने विलम्ब शुल्कसहित १६०० रुपैयाँ बुझाउनुपर्ने प्रावधान छ। भौतिक विज्ञान, जीव विज्ञान, रसायन विज्ञान, कम्प्युटर विज्ञान र होटल म्यानेजमेन्ट जस्ता बाह्य परीक्षक आवश्यक पर्ने विषयका लागि थप शुल्क लाग्नेछ। प्रयोगात्मक परीक्षा २०८२ चैत ३० गतेभित्र सम्पन्न गरी वैशाख १५ गतेसम्म बोर्डमा प्राप्ताङ्क पठाइसक्नुपर्ने कार्यतालिका सार्वजनिक गरिएको छ।
परीक्षार्थीले आफूले कक्षा १२ को नियमित परीक्षा दिएकै विद्यालयबाट मात्र आंशिक परीक्षाको आवेदन दिनुपर्नेछ। विषय छनोट गर्दा कक्षा ११ मा अध्ययन गरेकै विषय र समूह अनुसार हुनुपर्नेछ, अन्यथा आवेदन स्वतः रद्द हुने बोर्डले चेतावनी दिएको छ। आवेदन फाराम विद्यार्थी स्वयंले भरेको हुनुपर्ने र विद्यालयले ती विवरणहरू बोर्डको अनलाइन पोर्टल मार्फत प्रविष्टि गर्नुपर्ने व्यवस्था मिलाइएको छ। शुल्क भुक्तानीका लागि बैंक भौचरका अतिरिक्त कनेक्ट आईपीएस, ई-सेवा, खल्ती र आईएमई-पे जस्ता डिजिटल माध्यमहरू समेत प्रयोग गर्न सकिने बोर्डले जनाएको छ।

