कृषि उपज र बीउबिजनको नयाँ मूल्य निर्धारण, कुनको मूल्य कति?

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न कृषि उपज, बीउबिजन तथा बाली वस्तुहरूको नयाँ बिक्री मूल्य स्वीकृत गरेको छ। मन्त्रालयले मंसिर २८ गते मन्त्रिस्तरीय निर्णय गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको हो। नयाँ दररेट अनुसार बीउबिजनतर्फ धान, मकै, गहुँ र दलहनको छुट्टाछुट्टै मूल्य निर्धारण गरिएको छ।

नयाँ मूल्य अनुसार बास्नादार धानको बीउ (मूल) प्रति किलो १०५ रुपैयाँ र प्रमाणित बीउको १०० रुपैयाँ तोकिएको छ। यस्तै मोटो धानको बीउ मूलतर्फ ७१ रुपैयाँ र प्रमाणिततर्फ ६५ रुपैयाँ कायम गरिएको छ। बीउबिजनमध्ये सबैभन्दा महँगो मूल्य हाइब्रिड मकैको बीउ प्रति किलो ३०० रुपैयाँ तोकिएको छ। हाइब्रिड धानको बीउ भने प्रति किलो २०० रुपैयाँमा बिक्री हुने मन्त्रालयले जनाएको छ। खाद्यान्नतर्फ महत्त्वपूर्ण मानिने गहुँको बीउ (मूल) प्रति किलो ८० रुपैयाँ र प्रमाणितको ७५ रुपैयाँ निर्धारण गरिएको छ।

दलहन र तेलहनतर्फ मुसुरोको बीउ (मूल) १६० रुपैयाँ र तोरीको बीउ (मूल) १७० रुपैयाँ प्रति किलो तोकिएको छ। हरियो मलको रूपमा प्रयोग गरिने ढैँचाको बीउको मूल्य प्रति किलो १२० रुपैयाँ कायम गरिएको छ।

मन्त्रालयले बीउका लागि अयोग्य रहेका खाद्यान्न वस्तुहरूको पनि छुट्टै मूल्य तोकेको छ। जसअनुसार गहुँ ३८.६७ रुपैयाँ, मोटो धान ३४.६३ रुपैयाँ र मध्यम तथा मसिनो धान ३६.२८ रुपैयाँ प्रति किलो तोकिएको छ। यस्तै मकै ३५ रुपैयाँ, मुसुरो ९० रुपैयाँ र तोरी ८० रुपैयाँ प्रति किलोमा बिक्री हुनेछ।

यसैगरी बीउ प्रशोधन गर्दा निस्कने टुक्रिएको धान प्रति किलो १८ रुपैयाँ र टुक्रिएको गहुँ २० रुपैयाँमा बिक्री गरिने मन्त्रालयले जनाएको छ। कृषि सह–उत्पादन अन्तर्गत धानको परालको मूल्य प्रति किलो २ रुपैयाँ कायम गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *