संसद् पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर

काठमाडौँ। विघटित प्रतिनिधिसभाका ६५ जना नेपाली कांग्रेसका सांसदले संसद् पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। पार्टीका शीर्ष नेताहरूले भने यसमा हस्ताक्षर गरेका छैनन्।

प्रतिनिधिसभाकी निवर्तमान सचेतक सुशीला थिङका अनुसार शीर्ष तहबाहेकका ६५ सांसदले हस्ताक्षर गरेका हुन्। उनले आफूहरू ६५ जनाले हस्ताक्षर गरे पनि शीर्ष नेताहरूलाई हस्ताक्षर गर्न नभनिएको जानकारी दिइन्।

सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताले भने हस्ताक्षर गरेका छैनन्। पछिल्लो समय पुनस्र्थापनाको पक्षमा बोल्दै आएका इतर समूहका नेता डा. शेखर कोइरालाले पनि पुनर्स्थापनाको माग गर्दै गरिएको हस्ताक्षरमा साथ दिएका छैनन्।

यसअघि मंसिर २३ गते कांग्रेसका ८ जना निवर्तमान सांसदले सर्वोच्चमा रिट दर्ता गरिसकेका छन्। रिट दर्ता गर्नेमा निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ, सांसदहरू दीपक खड्का, जाबेदा खातुन जागा, आशा बिक, सिता राना, शान्ति बिक र नागिना यादव छन्।

त्यही रिटमा पूरक बनाएर सोमबार कांग्रेस र एमालेका बहुमत सांसदको संख्या पुर्‍याई सर्वोच्च जाने तयारी भइरहेको थिङले जानकारी दिइन्।

पार्टीको कार्यसम्पादन समितिले विघटनलाई असंवैधानिक भनेको र केन्द्रीय कार्यसमितिले संवैधानिक परीक्षण हुनुपर्ने निर्णय गरेकोले आफूहरू अदालत गएको उनको दाबी छ। पार्टीको निर्णयलाई टेकेर नै आफूहरू बहुमत पुर्‍याएर फेरि सर्वोच्च जान लागेको उनले बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *