बुद्धिको अभिमान कि आत्म-परिष्कार?

ज्ञानले मानिसलाई सामर्थ्य त दिन्छ, तर यदि त्यसमा विनम्रता मिसिएन भने त्यो आत्म-विनाशको कारण बन्छ। आजको युगमा हामी सूचनाले भरिएका त छौँ, तर के हामीमा आत्म-परिष्कारको भोक बाँकी छ?

आधुनिक युगमा सफलता सामान्यतया धन, पद, ख्याति र बाह्य उपलब्धिसँग जोडिन्छ। मानिसले आफ्नो जीवनलाई यश र कीर्तिमा मात्र नाप्न थालेको छ। तर प्राचीन दार्शनिक दृष्टिले सफलता भनेको केवल भौतिक विजय होइन, ज्ञानसँगै विनम्रताको अभ्यास हो। ज्ञान मात्र पर्याप्त छैन, त्यसलाई विनम्रताले शान्त र उपयोगी बनाउँछ। अभिमानले ज्ञानलाई विष बनाउँछ भने विनम्रताले अमृत बनाउँछ।

मिथक र इतिहास: अहंकारको मूल्य

मानव इतिहासमा असंख्य उदाहरण छन्, जसले देखाउँछन् कि ज्ञान भएर पनि विनम्रता नभए जीवन विनाशतर्फ धकेलिन्छ। ग्रीक मिथकमा इकारसको कथा स्मरणीय छ। उसले मैनको पखेटा बनाएर आकाशमा उड्न सकेको थियो, तर अभिमानले गर्दा ऊ सूर्यको नजिक पुग्यो; फलस्वरूप पखेटा पग्लिए र उसको पतन भयो। यसले देखाउँछ- ज्ञानले ठूलो सामर्थ्य दिन्छ तर अभिमानले त्यसलाई नष्ट गर्छ।

त्यस्तै, महाभारतमा दुर्योधन युद्धकला, राजनीति र राज्य सञ्चालनमा निपुण थियो, तर उसको अहंकारले उसलाई विनाशको बाटोमा धकेल्यो। अर्कोतर्फ, रामायणका रावण यसकै प्रत्यक्ष उदाहरण हुन्। रावण विद्वान् र महाशक्तिशाली थिए, तर आफ्नो शक्ति र बुद्धिमाथिको गर्वले गर्दा उनले धर्म र न्यायको सीमा भुले। अन्ततः, सम्पूर्ण साम्राज्य पतन भयो। यसले सिकाउँछ- विद्या मात्र पर्याप्त छैन, विनम्रता नभए त्यो विद्या आफैँ विनाशको बाटो बन्छ।
दार्शनिक आधार: शास्त्रले देखाएको मार्ग

विनम्रता भनेको आत्म-परिष्कारको अभ्यास हो। उपनिषद्हरूमा भनिएको छ:

विद्यां चाविद्यां च यस्तद्वेदोभयं सह।

अविद्यया मृत्युं तीर्त्वा विद्ययाऽमृतमश्नुते॥

(अविद्याद्वारा मानिस सांसारिक जीवन पार गर्छ, तर विद्याद्वारा अमृतत्व अर्थात् आत्म-साक्षात्कार प्राप्त गर्छ।)

तर यो अमृतत्व ज्ञान मात्रले होइन, विनम्रताको अभ्यासले सम्भव हुन्छ। बुद्धले भन्नुभएको थियो, “विनयशीलता नै धर्मको आधार हो।” भगवद्गीतामा कृष्णले अर्जुनलाई भन्नुभएको छ: “अमानित्वमदम्भित्वमहिंसा क्षान्तिरार्जवम्” (विनय, अहंकारको अभाव, क्षमा र सत्यता नै ज्ञानका गुण हुन्)। सनातन दर्शनले भन्छ: “अहंकारो मोहनं विद्या लोपः” (अहंकारले मनलाई मोहित बनाउँछ र विद्याको लोप गराउँछ)।

बुद्धिको परिष्कार केवल बाह्य अनुशासन होइन। यो मन, वचन र कर्म—तीनै तहमा लागू हुन्छ।

तत्त्वज्ञानमा भनिएको छ: “मनश्चित्तवचनकर्मणा”।

मनले सोच्ने, वचनले बोल्ने र कर्मले गर्ने कार्यहरूको शुद्ध सन्तुलन नै परिष्कार हो।

आधुनिक समाज र राजनीतिक अहंकार

आजको समाजमा ज्ञानको प्रशंसा हुन्छ, तर विनम्रतालाई कमजोरी ठानिन्छ। टेक्नोलोजीका विज्ञ, अर्थशास्त्री, वा राजनेताहरूले जब आफ्नो ज्ञानलाई मात्र आधार बनाएर बोल्छन्, त्यहाँ अहंकार प्रवेश गर्छ। आधुनिक विज्ञानका प्रणेता स्टिफन हकिङले भनेका थिए: “मानिसको सबैभन्दा ठूलो शत्रु अज्ञानता होइन, बरु ज्ञानी भएको भ्रम हो।”

यस भनाइले नेपाली समाज र राजनीति दुवैलाई उदाङ्ग पार्छ। आजका धेरै नेता र विज्ञहरू आफैँलाई सर्वज्ञ ठान्छन्, तर उनीहरूको व्यवहारले जनजीवनलाई संकटमा पारिरहेको छ। जब नेतृत्व तहमा रहेका व्यक्तिहरूले अरूका विचारलाई अस्वीकार गर्छन् र आलोचनालाई शत्रु ठान्छन्, तब नीति निर्माणमा अपारदर्शिता आउँछ। नेपालमा राजनीतिक सुधार र अनुकूलन आवश्यक हुँदाहुँदै पनि अहंकारकै कारण त्यो सम्भव भइरहेको छैन। आत्म-समालोचनाको संस्कार नहुँदा लोकतान्त्रिक अभ्यास कमजोर हुँदै गएको छ र दलीय अहंकारको जरा गाडिएको छ।

मानवताको लागि विनय

अन्ततः, बुद्धिको अभिमान आत्म-विनाशको बीउ हो। विनय, आत्म-समालोचना र धर्मअनुरूप ज्ञानको प्रयोग नै वास्तविक आत्म-परिष्कार हो। ज्ञान र बुद्धि तब मात्र मूल्यवान् हुन्छन् जब तिनले दया, प्रेम र करुणा अभिवृद्धि गर्छन्। समृद्ध समाज निर्माणका लागि आत्ममुग्धता होइन, खुला संवाद र सहिष्णुता आवश्यक छ।

पुरातन मिथक र शास्त्रहरू केवल कथा होइनन्, ती मानव चेतनाका दर्पण हुन्। बुद्धिको साँचो प्रयोग तब मात्र सम्भव हुन्छ जब हामी आफ्ना सीमा र त्रुटि स्वीकार गर्छौँ। सत्य, धर्म, करुणा र विवेकका आधारमा बुद्धिको परिष्कार गर्नु नै मानव जीवनको शाश्वत लक्ष्य हो। यदि हामी अहंकार त्याग्न सिक्छौँ भने, हाम्रो जीवन सम्पूर्ण मानव जातिको कल्याणको मार्गमा अग्रसर हुन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *