‘साहित्य भूषण’ ढुङ्गेलको स्मृतिमा प्रतिष्ठान, कृतिहरू पुन: प्रकाशन गरिने

विराटनगर। विशिष्ट साहित्यकार, समाजसेवी तथा राजनीतिज्ञ स्व. मित्र देव ढुङ्गेल (साहित्य भूषण) को योगदानलाई चिरस्थायी बनाउन उनको नाममा ‘स्मृति प्रतिष्ठान’ गठन भएको छ। पारिवारिक भेलाले ढुङ्गेलकी पत्नी श्रीमती रेनु ढुङ्गेलको संरक्षकत्वमा ‘साहित्यकार, समाजसेवी तथा राजनीतिज्ञ मित्र देव ढुङ्गेल (साहित्य भूषण) स्मृति प्रतिष्ठान’ स्थापना गर्ने निर्णय गरेको हो।

प्रतिष्ठानलाई संस्थागत रूप दिन पाँच सदस्यीय मूल तदर्थ समिति समेत चयन भएको छ। जसमा छोरा सागर ढुङ्गेल संयोजक, छोरीहरू बेन्जु सरोज ढुङ्गेल र बुनु ढुङ्गेल घिमिरे तथा बुहारी सुधा शर्मा ढुङ्गेल सदस्य र नाति समृद्ध ढुङ्गेल सदस्य सचिव छन्। समितिलाई आगामी ६ महिनाभित्र प्रतिष्ठानको विधान निर्माण गरी सम्बन्धित निकायमा दर्ता गर्ने लगायतका महत्त्वपूर्ण जिम्मेवारी तोकिएको छ।

प्रतिष्ठानले स्व. ढुङ्गेलका ऐतिहासिक कृतिहरूको पुन: प्रकाशनलाई प्राथमिकतामा राखेको छ। जसमा नेपालको पहिलो हास्यव्यङ्ग्य पूर्णाङ्की नाटक ‘रक्सी’ (२०१७), ‘मेरो हवाई यात्रा’ (२०१३), ‘श्री बराह यात्रा’, ‘रक्सी महात्म्य’ र उनको जीवनी रहेका छन्। साथै वरिष्ठ साहित्यकार स्व. दधिराज सुवेदीले तयार पारेको ‘मित्र देव ढुङ्गेल स्मृति ग्रन्थ’ लाई समेत प्रकाशमा ल्याई भव्य समारोहबीच विमोचन गर्ने योजना छ।

यसबाहेक प्रतिष्ठानले साहित्य, कला, नाटक, संगीत र अभिनयका क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्तित्वहरूलाई हरेक वर्ष सम्मानित गर्ने लक्ष्य लिएको छ। स्व. ढुङ्गेलले स्थापना गरेका विद्यालय, पुस्तकालय, चौतारा, मन्दिर तथा क्लबहरूको अनुगमन गरी तिनको पुनर्निर्माण र जीर्णोद्धारमा समेत प्रतिष्ठानले सक्रिय सहयोग गर्नेछ।

पारिवारिक भेलामा श्रीमती रेनु ढुङ्गेल, ज्वाइँहरू सरोज लामिछाने र प्रकाश घिमिरे, नाति-नातिनीहरू सब्रील, श्रेया, प्रसिका र समृद्धको उपस्थिति थियो। संयोजक सागर ढुङ्गेलले प्रतिष्ठानको आगामी यात्रामा सबै आफन्त र शुभचिन्तकबाट सल्लाह र सहयोगको अपेक्षा राख्दै प्रतिष्ठानका गतिविधिबारे निरन्तर जानकारी गराइने बताए।


प्रतिक्रिया

2 thoughts on “‘साहित्य भूषण’ ढुङ्गेलको स्मृतिमा प्रतिष्ठान, कृतिहरू पुन: प्रकाशन गरिने

  1. Wow dherai saraniy kary garnu bhayeko chha.khushi lagyo. Hajur ko soch bichar ati nai yogy lagyo.safalta ko subh kamana chha sagar daju..

  2. अत्यन्त सह्राहनीय कार्य । हार्दिक शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *