जितेपछि ओली, ‘नेतृत्वलाई हात हाले देश ठप्प’
काठमाडौँ। नेकपा एमालेको ११ औँ महाधिवेशनबाट तेस्रो पटक सारथि चुनिएका केपी शर्मा ओलीले निर्वाचित हुनेबित्तिकै निकै कडा राजनीतिक सन्देश दिएका छन्।
उनले पार्टी नेतृत्वमाथि जाली मुद्दा लगाएर घेराबन्दी गर्न खोजिएको भन्दै सरकारलाई कडा चेतावनी दिएका छन्। ‘यदि एमालेलाई जिस्क्याइयो भने देश ठप्प हुन्छ र त्यसको मूल्य सरकारले निकै महँगो गरी चुकाउनुपर्नेछ’ उनले भने।
ओलीले पञ्चायतकालीन शैलीमा षड्यन्त्र भइरहेको दाबी गर्दै अब पार्टी प्रतिरक्षामा मात्रै सीमित नरहने बताए। उनले देशभरका कार्यकर्तालाई जुर्मुराउन निर्देशन दिँदै भनेका छन्, ‘हामी कुरा गरेर होइन, काम गरेर देखाउँछौँ। अब राज्य संयन्त्रको भर परेर हुँदैन, आफ्नै सुरक्षा आफैँ गर्नुपर्छ।’
यही रणनीति अन्तर्गत उनले एक हप्ताभित्र देशभरका टोलटोलमा ‘टोल सुरक्षा समिति’ गठन गर्न निर्देशन दिएका छन्। यसले एमाले अब सडकमा आक्रामक रूपमा उत्रिन लागेको संकेत गर्छ।
विशेषगरी भदौ २४ को घटना र ‘जेनजी’ जस्ता नाममा आउन सक्ने चुनौतीलाई संकेत गर्दै ओलीले अबको लडाइँ मानसिक र संगठनात्मक रूपमा लड्नुपर्ने बताए।
उनले केपी ओली बिनाको एमालेू देख्न चाहनेहरूको सपनालाई महाधिवेशन प्रतिनिधिहरूले ध्वस्त पारिदिएको भन्दै खुसी समेत व्यक्त गरे। भ्रम, मनोवैज्ञानिक आतंक र षड्यन्त्रका पर्खालहरूलाई मतको बलले भत्काएकोमा उनले कार्यकर्ताको प्रशंसा गरे।
प्रधानमन्त्री सुशीला कार्कीप्रति निकै कडा रूपमा प्रस्तुत भएका ओलीले सरकारलाई सीधा चुनौती दिँदै भने ‘सके निर्वाचन गर, नत्र बाटो लाग।’
राति अबेरसम्म जाग्राम बसेर मतदान गर्ने २ हजार २२७ प्रतिनिधिको उत्साहलाई ऊर्जाको रूपमा लिँदै ओलीले अबको एमाले सम्भावित राजनीतिक र कानुनी संघर्षका लागि तयार रहेको घोषणा गरे।
