ओली तेस्रो पटक अध्यक्षमा निर्वाचित, पदाधिकारीमा ओली प्यानलको बर्चस्व

काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली पुनः अध्यक्षमा निर्वाचित भएका छन्। बिहीबार सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गर्दै ओली लगातार तेस्रो कार्यकालका लागि पार्टी नेतृत्वमा पुगेका हुन्।

यसअघि नवौँ र दशौँ महाधिवेशनबाट पनि ओली नै अध्यक्ष चुनिएका थिए। निर्वाचन आयोगका अनुसार ओलीले १ हजार ६६३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत मात्र पाएका छन्। मतपरिणामको औपचारिक घोषणा भने केही बेरमा गर्ने तयारी भइरहेको छ।

महासचिवमा शंकर पोखरेल

पार्टीको दोस्रो मुख्य पद महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार उनले १ हजार २२८ मत प्राप्त गरी सुरेन्द्र पाण्डेलाई पराजित गरेका हुन्। सुरुदेखि नै अग्रता लिएका पोखरेलले अन्ततः पाण्डेलाई पछि पार्दै महासचिवको जिम्मेवारी सुरक्षित गरेका छन्।

उपमहासचिवमा भट्ट, महासेठ र भट्टराई तीन जना उपमहासचिव पदका लागि भएको निर्वाचनमा अध्यक्ष ओलीको प्यानलबाट लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्। विजयीमध्ये भट्टले १ हजार ४५२ र महासेठले १ हजार ३६८ मत प्राप्त गरेका छन्। यस्तै, ईश्वर पोखरेलको प्यानलबाट उम्मेदवारी दिएका योगेश भट्टराई १ हजार ३४८ मतका साथ विजयी भएका छन्। उपमहासचिवका अन्य उम्मेदवारहरू विष्णुप्रसाद रिमालले १ हजार ९१, आनन्दप्रसाद पोख्रेलले ६३५, वैजनाथ चौधरीले ५१७ र राजेन्द्रप्रसाद गौतमले २७० मत प्राप्त गरे।

सचिवमा ओली प्यानलकै ‘क्लिन स्वीप

सचिव पदमा भने अध्यक्ष ओलीको प्यानलले नै वर्चस्व कायम गरेको छ। सचिवमा सबैभन्दा बढी मत महेश बस्नेतले १ हजार ५४४ मत प्राप्त गरे। दोस्रो स्थानमा पद्माकुमारी अर्यालले १ हजार ५३० र तेस्रोमा छविलाल विश्वकर्माले १ हजार ५०६ मत ल्याएर विजयी भए।

यसैगरी, शेरधन राई (१,५०३ मत), हिक्मतकुमार कार्की (१,३३७), खगराज अधिकारी (१,२३१), यामलाल कँडेल (१,१८५), राजन भट्टराई (१,१८१) र भानुभक्त ढकाल (१,१०८) मतका साथ सचिव पदमा निर्वाचित भएका छन्।

निर्वाचन आयोगले बाँकी रहेका केन्द्रीय सदस्यहरूको मतपरिणाम पनि छिट्टै सार्वजनिक गर्ने र आजै नवनिर्वाचित नेतृत्वलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *