एमाले महाधिवेशन: रोकिएको मतदान आज बिहान ८ बजेदेखि
काठमाडौँ । नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बुधबार बिहान ८ बजेदेखि मतदान सुरु हुँदैछ। मङ्गलबार नै मतदान गर्ने कार्यतालिका भए पनि प्राविधिक समस्या उत्पन्न भएपछि मतदान एक दिन पछि सारिएको हो।
निर्वाचन आयोगले तयार पारेको उम्मेदवारहरूको नामावलीमा ‘युनिकोड’ र ‘प्रिति’ फन्ट मिश्रित रूपमा प्रयोग हुँदा मतदान प्रक्रिया प्रभावित भएको थियो। मेसिनमा नामावली रुजु गर्दा फन्ट मिलेको थिएन। एमाले महासचिव शंकर पोखरेलका अनुसार सबै नामावलीलाई पूर्ण रूपमा युनिकोडमा रूपान्तरण गरी रुजु गर्न समय लागेकाले निर्वाचन आयोगको निर्देशनमा मतदान बुधबारका लागि सारिएको हो।
लाइनमा बसेका मतदाता रित्तै हात फिर्ता मङ्गलबार साँझ मतदान हुने आशामा मतदाताहरू घण्टौँसम्म लाइनमा बसेका थिए। तर, राति ८ बजे निर्वाचन समितिले “प्राविधिक तयारी नपुगेको” भन्दै भोलिपल्ट बिहान ८ बजे मात्र मतदान हुने सूचना जारी गरेपछि प्रतिनिधिहरू आक्रोशित हुँदै फर्केका थिए।
ओली र पोखरेलबीच मुख्य प्रतिस्पर्धा एमालेको भावी नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका छन्। यस महाधिवेशनले अध्यक्षसहित १९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ। मतदानका लागि भृकुटीमण्डपमा विद्युतीय भोटिङ मेसिनहरूको व्यवस्था गरिएको छ।
निर्वाचन आयोगले आज बिहानैदेखि मतदान प्रक्रिया चुस्त रूपमा अगाडि बढाउने र छिट्टै नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।
