एमाले महाधिवेशन: कडा सुरक्षाबीच सुरु भयो मतदान
काठमाडौँ। लामो रस्साकस्सी र व्यापक बहसपछि अन्ततः नेकपा (एमाले) को ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयनको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। सर्वसम्मतिको प्रयास सफल नभएपछि नेतृत्वको टुंगो अब मतपत्रबाट लाग्ने निश्चित भएको हो।
सधैँ एउटै कित्तामा उभिएर एमालेको राजनीतिलाई हाँक्दै आएका वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच यसपटक अध्यक्ष पदका लागि सीधा टक्कर परेको छ। यसअघिका महाधिवेशनहरूमा ओलीका सारथीका रूपमा देखिने पोखरेलले यसपटक आफैँ नेतृत्वको दाबी गरेपछि एमालेको आन्तरिक राजनीतिमा नयाँ तरंग पैदा भएको छ। प्रतिनिधिहरूका अनुसार यो प्रतिस्पर्धा केवल पदको लागि मात्र नभएर पार्टीको आगामी कार्यदिशा र पुस्तान्तरणको बहससँग पनि जोडिएको छ।
नेतृत्व चयनका लागि आज मंगलबार साँझ ७ बजेदेखि मतदान प्रक्रिया सुरु भएको छ। काठमाडौँको चिसो मौसमलाई बेवास्ता गर्दै महाधिवेशन स्थलमा प्रतिनिधिहरूको तातो उत्साह देखिएको छ। देशभरबाट आएका हजारौँ महाधिवेशन प्रतिनिधिहरू आफ्नो मताधिकार प्रयोग गर्न अनुशासित रूपमा लामो लाइनमा बसेका छन्।
मतदान प्रक्रियालाई व्यवस्थित, निष्पक्ष र धाँधलीरहित बनाउन निर्वाचन आयोगले विशेष तयारी गरेको छ। महाधिवेशन स्थलमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ भने स्वयंसेवकहरूलाई बाक्लो रूपमा परिचालन गरिएको छ। नतिजाको पर्खाइ मतदान राति अबेरसम्म चल्ने अनुमान गरिएको छ। अध्यक्षका दुवै प्रत्यासी’ हेभीवेट’ नेता भएकाले नतिजा कसको पक्षमा जान्छ भनेर अहिले नै आकलन गर्न गाह्रो भएको विश्लेषकहरू बताउँछन्। ओली आफ्नो पुरानो विरासत जोगाउन चाहन्छन् भने पोखरेल पार्टीमा नयाँ ऊर्जा भर्न नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन्।
