एमालेको नेतृत्वका लागि आज मतदान

काठमाडौं। नेकपा एमालेको जारी ११ औँ महाधिवेशनले नयाँ नेतृत्व चयनका लागि आज मंगलबार मतदान गर्दैछ। महाधिवेशनस्थल भृकुटीमण्डपमा दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुने निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।

महाधिवेशनमा १९ पदाधिकारीका लागि कुल ४२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सबैभन्दा बढी चासोका साथ हेरिएको अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बीच कडा प्रतिस्पर्धा हुने निश्चित भएको छ।

पाँच जनाको कोटामा ११ जना नेताहरू चुनावी मैदानमा उत्रिएका छन्। उपाध्यक्षका उम्मेदवारहरूमा अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्णराज विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा, डा. बिन्दा पाण्डे र विष्णुप्रसाद पौडेल रहेका छन्।

महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे बीच प्रतिस्पर्धा हुँदैछ। उपमहासचिवको तीन जनाको कोटामा सात जनाले उम्मेदवारी दिएका छन्। आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णुप्रसाद रिमाल र वैजनाथ चौधरी उपमहासचिवका आकांक्षी हुन्।

सचिवपदमा ९ सिटका लागि सबैभन्दा धेरै २० जनाको उम्मेदवारी परेको छ। सचिव पदमा पनि तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। सचिव पदमा अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुरप्रसाद गैरे, पद्माकुमारी अर्याल, पुरुषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोदप्रसाद ढकाल, शेरधन राई र हिक्मतकुमार कार्कीको उम्मेदवारी परेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *