दुर्गा प्रसाईं नेतृत्वको ‘महाअभियान’ सँग वार्ता गर्न सरकारद्वारा समिति गठन

काठमाडौँ। दुर्गा प्रसाईंको नेतृत्वमा रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ सँग वार्ता गर्नका लागि सरकारले एक समिति गठन गरेको छ।

आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले महाअभियानले उठाएका तत्काल सम्बोधन गर्न सकिने मागहरूका सम्बन्धमा छलफल गर्न ‘आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति’ गठन गरिएको जानकारी दिएको हो।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठका अनुसार उक्त समितिको संयोजकत्व सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले गर्ने छन्। समितिमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना सदस्यका रूपमा रहनेछन्।

समितिले वार्ता प्रक्रिया अघि बढाउनका लागि महाअभियानलाई पनि आफ्ना तीन जना प्रतिनिधि सिफारिस गरी पठाउन आग्रह गरेको छ।

यसअघि प्रधानमन्त्री कार्की र महाअभियानका पदाधिकारीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंसिर २२ गते छलफल भएको थियो। उक्त छलफलमा पुस २ गते अर्को बैठक बस्ने सहमति भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *